नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुने प्रस्ताव राखेका छन्।
काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समिति बैठकमा फरक मत राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दुई महिनाभित्र विशेष महाधिवेशन हुन नसक्ने पनि बताएका छन्।
‘महाधिवेशन कहिले? हामीले महाधिवेशनको आयोजना गर्दा एकातिर देशको तत्कालीन परिस्थिति र कार्यभारलाई र साथसाथै महाधिवेशनको उद्देश्य तथा न्यूनतम पूर्वशर्तको पालनामा ध्यान दिनु पर्दछ। अहिले पार्टीको मुख्य ध्यान घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्ने बिन्दुमा देशलाई पुर्याउन र निर्वाचनको तयारीमा केन्द्रित गर्नु पर्दछ। निर्वाचन निर्धारित मितिमा हुन नसकेमा उत्पन्न हुन सक्ने संकटबाट देशलाई बचाउन र निर्वाचनमा राम्रो परिणाम ल्याउन हरसम्भव प्रयत्न गर्न त्यसैमा जोडदिनु पर्दछ। त्यस कोणबाट हेर्दा निर्वाचन मिति अघि मंसिरमा नै विशेष महाधिवेशन सम्भव र उपयुक्त हुँदैन,’ उनले भनेका छन्।
पार्टीको वैचारिक सांस्कृतिक स्तरको न्यूनता एवम् गुटबन्दीले पार्टी एकताबद्ध भएर महाधिवेशनमा होमिसक्नेतर्फ पनि उनले संशय व्यक्त गरेका छन्।
‘पार्टीको विभिन्न स्तरको सम्मेलन र अधिवेशनमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा अर्थात् गुटबन्दीजन्य छिनाझपटीले पार्टीलाई आसन्न चुनावमा एकताबद्ध भएर प्रस्तुत हुनेमा गम्भीर समस्या उत्पन्न गर्न सक्नेछ। यसरी हेर्दा पनि निर्वाचन मितिअघि मंसिरमा विशेष महाधिवेशन उपयुक्त हुँदैन,’ उनले भनेका छन्।
महाधिवेशन गर्न वैचारिक दस्तावेज तयार पार्ने र त्यसमाथि छलफल गराउन पनि दुई महिनामा सम्भव नहुने उनले बताएका छन्। त्यस्तै यसबीचमा सबै वडा र पालिका तहको अधिवेशन हुनुपर्ने पनि उनले बताएका छन्।
‘वैचारिक दस्तावेज तयार पारी तल पार्टीको सबै तहमा पार्टी सदस्यसम्म पुर्याउनु पर्दछ र त्यसमाथि अध्ययन छलफल हुनु पर्छ। सबै वडा पालिका र प्रदेश स्तरको सम्मेलन अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नु पर्दछ। दुई महिना भित्रमा यो कार्य पूरा गरेर सार्थक महाधिवेशन गर्न सम्भव देखिँदैन,’ उनले भनेका छन्।
त्यसैले निर्वाचनपछि सम्भव भएसम्म छिटो महाधिवेशन गर्ने सोचअनुसार अघि बढ्नु आवश्यक रहेको उनले औंल्याएका छन्।
‘प्रमुख कार्यकारी नेतृत्वबारे पार्टी महाधिवेशन त्यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अघि बढ्दै गर्दा पनि पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनु पर्दछ। अहिले जेन जी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपीलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ,’ उनले भनेका छन्।
महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने अहिले संस्थागत प्रणालीअन्तर्गत दोस्रो वरियताको नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुने प्रस्ताव गरेका छन्।
‘यो पार्टी पुनर्गठनको संदेश दिन र जनतालाई अपील गर्न सकारात्मक कदम हुनेछ। अध्यक्ष प्रचण्डले नै यो पहल लिदा सामान्यतः नेपाली मुलधारको राजनीतिमा र विशेषतः नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक अगुवाइका रुपमा स्थापित हुनेछ,’ उनले भनेका छन्।
प्रचण्डको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उनीप्रतिको सम्मानलाई कायम राख्दै र उनको निरन्तरको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्दै गरिनुपर्ने पनि उनले बताएका छन्।