नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी विघटितप्रायः रहेको बताएका छन्।
प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीमा उपमहासचिव शर्माल फरक मत राख्दै पार्टी विघटितप्राय अवस्थामा रहेको बताएका हुन्।
त्यसमा उनले पाँच आधारसमेत दिएका छन्।
'पार्टी केन्द्रीय कार्यालय आगजनीमा परेको छ । आन्दोलन ले निम्त्याउने सम्भावित खतराबारे पूर्वआकलन गर्न नसक्नु, लाखौं पार्टी सदस्य र नेतृत्वको यति ठूलो फर्मेसन हुदाहुँदै हाम्रो पार्टी हेडक्वाटर जलिरहँदा हामी कोही पनि प्रतिवाद गर्न नसक्ने ठाउँमा पुग्नु,आफैलाई बचाउने हैसियत नहुनुले आधारभूत वर्ग हामीसँग रिसाएको वास्तविकतालाई उजागर गरेको छ,' शर्माले लेखेका छन्, 'आन्दोलन सबैतिर बिस्तार भइरहेको बेलामा के गर्ने भनेर अन्योलमा रहेका नेता कार्यकर्ताहरूलाई मार्गदर्शन गर्न सकेनौं राज्य विहिनताको अवस्थासंगै पार्टी विहिनताको अवस्था रह्यो यसले विघटनको तथ्यलाई स्पष्ट गर्दछ।'
उनले पार्टीमा आफूले बारम्बार नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्दै आएको भए पनि त्यसलाई बेवास्ता गर्दा पार्टी अहिलेको अवस्थामा आइपुगेको पनि बताएका छन्।
'मैले यसअघि प्रस्तुत गरेको प्रस्तावहरूलाई आत्मसात गर्दै आएको भए आज पार्टी यो अवस्थामा आइपुग्ने थिएन,' शर्माले फरक मतमा भनेका छन्।
उनले भर्खरै भएको जेनजी आन्दोलनको माग र विगतका कमी कमजोरी नदोहोरिने गरी पार्टीलाई नयाँ ढंगले निर्माण गर्न जरूरी रहेको बताएका छन्।
अहिलेकै नेतृत्वले गर्ने अपिल जनताले नसुन्ने पनि उनको भनाइ छ।
'जनताले सुन्नेगरी उनीहरूलाई अपिल गर्न सक्ने नयाँ अनुहारहरू अगाडि सार्न जरूरी छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं,' उनले भनेका छौं।
नेतृत्व हस्तान्तरणको विषय अध्यक्ष प्रचण्डले गरेको योगदानको नजरन्दाज नहुने पनि उनले बताएका छन्।
'अध्यक्ष प्रचण्डले जनयूद्ध अगाडि गरेको सांगठानिक योगदान, जनयूद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्ध पछिको योगदानलाई उच्च सम्मान गरौं । आज इतिहासले दिएको यही नै एउटा विकल्प हो। २१ औं शताब्दीका यूवा लगायत सम्पूर्ण जनताको अपेक्षा अनुसार पार्टीलाई सुदृढ एवं एकताबद्ध गर्ने विधि र समस्याको समाधान गर्ने उत्तम उपाय हो। यो निर्णयले कम्युनिस्ट आन्दोलन रक्षा गर्न योगदान पुग्नेछ,' उनले फरक मतमा भनेका छन्।
उनले नयाँ पुस्ता विचारमा शून्य छ भन्नु मनोगत रोगले ग्रसित हुनु र पुरानो पुस्ताको असक्षमता प्रस्तुत गर्नु मात्रै हुने पनि बताएका छन्।
यस्तो छ जनार्दनको फरक मतः