नेकपा (माओवादी केन्द्र) देशलाई थप संकटतर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा लिखित प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन हुन नदिने चलखेल भइरहेको बताएका हुन्।
‘देशी–विदेशी प्रतिक्रियावादीहरूले आगामी फागुन २१ मा घोषित आम निर्वाचनलाई सम्पन्न हुन नदिने र देशलाई थप संकटतर्फ धकेल्ने षड्यन्त्र गरिरहेको सन्दर्भमा हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रूपले होमिनु पर्दछ। महाधिवेशन र निर्वाचन तयारीको कामलाई सँगसँगै अगाडि बढाउनु पर्दछ। निर्वाचनमा जेन जी तथा युवा पुस्ताको उल्लेख्य उम्मेदवारी चयनका लागि लोकतान्त्रिक विधि र सहभागितामूलक पद्दति अपनाउने तथा युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिने नीति लिनुपर्छ,’ उनले प्रतिवेदनमा भनेका छन्।
अध्यक्ष प्रचण्डले पार्टी एकता तथा ध्रुवीकरणबारे पनि जोड दिएका छन्।
राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर संकटमा रहेको वर्तमान सन्दर्भमा विशेष महाधिवेशन घोषणा सम्बन्धी मूल स्पिरिटलाई ध्यानमा राख्दै समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सँगसँगै अगाडि बढाइने उनले बताएका छन्।
‘यस बाहेक संविधानको रक्षा तथा घोषित समयमा निर्वाचन सम्पन्न गराउने सवालमा नीति तथा विचार मिल्ने शक्तिहरूसँग राजनीतिक सहकार्य गरिनेछ,’ उनले प्रस्तावमा भनेका छन्।
यस्तै भदौ २४ गतेको प्रदर्शनबाट क्षति पुगेका संरचना पुनर्निर्माणबारे पनि प्रचण्डले प्रस्ताव गरेका छन्। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका पार्टीका सबै संरचनाहरूको पुनर्निर्माणका लागि राष्ट्रिय अभियान सञ्चालन गरिने उनले बताएका छन्।
‘सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणमा पार्टी समितिहरूले सम्बन्धित निकायहरूसँग समन्वय गरी स्वयंसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने। पार्टीका क्षतिग्रस्त संरचनाहरू पुनर्निर्माणका लागि पार्टी सदस्य र समर्थकहरूको सहयोगबाट कोष खडा गर्नेछ,’ उनले प्रस्तावमार्फत् भनेका छन्।