नेकपा (माअोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने षड्यन्त्र हुन सक्ने बताएका छन्।
उनले लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफूअनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठपुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने षड्यन्त्र हुनसक्ने औंल्याएका हुन्।
बिहीबार काठमाडौंको प्रज्ञा भवनमा सुरू भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले 'जेन–जी आन्दोलनपछि गैरदलीय सरकार बने पनि जनयुद्ध र २०६२–६३ को आन्दोलनका उपलब्धीहरू माथिको संकट भने नटरेको' बताए।
‘जेन–जी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धीहरू माथिको संकट भने टरेको छैन। विभिन्न बाहनामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार छानबिनका नाममा जेल हाल्ने, लोकतान्त्रिक राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाउने र आफूअनुकूल निर्वाचन र परिणामबाट आफ्नो कठ्पुतली पात्रमार्फत् स्वार्थ सिद्ध गर्ने प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलहरू बाँकी नै रहेका छन्,’ अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्।
यो सबै परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गरी आगामी फागुन २१ मा प्रनिनिधि सभा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन जोड दिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ।
यसक्रममा विचार मिल्ने पक्षहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने, राष्ट्रीय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गर्ने गरी पार्टीले नयाँ एतिहासिक पहल र भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
पार्टीका सामु जेन–जी आन्दोलनको गम्भीर र व्यवस्थित समीक्षासहित युवाहरूको मर्मको सम्मान गर्न विचार र संगठनलाई व्यवस्थित गर्नुपर्ने खाँचो प्रचण्डले औंल्याएका छन्।
‘देशी–विदेशी प्रतिक्रियावादी षड्यन्त्र र हस्तक्षेपको व्यवस्थित प्रतिवाद गर्न विचार, संगठन र संघर्षलाई नयाँ उचाइमा उठाउनु अनिवार्य बन्न गएको छ। यो परिस्थितिमा वस्तुगत र आत्मगत परिस्थितिको गम्भीर समीक्षा गर्नु अहिलेको आवश्यकता बनेको छ,’ उनले भनेका छन्।
माओवादी केन्द्र राजनीतिक एजेण्डाका हिसाबले सही छ भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको उनको जिकिर छ।
‘तर राजनीतिक विचार सही हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा भने हाम्रो भूमिकालाई गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ। हामी कहाँ चुक्यौं? विचार र संगठन, विचार र कार्यशैली, विचार र पार्टी–संस्कृति तथा पार्टी र जनताबीच के–कस्ता अन्तरविरोधका कारण हामीले आफ्नै मुद्दाहरूको अगुवाई गर्न सकेनौं?,’ उनले प्रश्न गर्दै भनेका छन्।
सिंगो राष्ट्रिय राजनीति माओवादीले नै उठाउँदै आएका मुद्दाहरूमा केन्द्रि हुनु तर माओवादीमाथि नै प्रहार हुने अवस्था किन सिर्जना भयो? भन्ने प्रश्नको जबाफ खोज्न उनले भनेका छन्।