नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुदन किरातीले पार्टी बैठकमा सबै नेताले आ-आफ्नो कुरा राख्नुपर्ने बताएका छन्।
बिहीबारदेखि काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा किरातीले सबैले आफ्ना कुरा आफैले राख्नुपर्ने बताएका हुन्।
बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने प्रतिवेदनमा भौगोलिक र गैरभौगोलिक समूह बनाउने र त्यहाँ छलफल गरेर हलमा निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची थियो।
यसमा असहमति जनाउँदै केही नेताहरूले सबैले वर्तमान परिस्थितीबारे दुई/तीन मिनेट बोल्न पाउनुपर्ने भनेका थिए।
माओवादीनिकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका रञ्जित तामाङले नेताहरुमा बाहिर अनेक बोल्ने तर पार्टी बैठकमा केही नबोल्ने प्रवृत्ति भएको बताएका थिए।
'अहिलेको परिस्थितिका विषयमा बाहिर अनेकौं कुराहरू आइराखेका छन्। बाहिर राखेका कुराहरू हामी आधिकारिक मानिरेहका छैनौं। अवको यो स्थितिमा पार्टीको संगठनलाई कसरी अगाडि लाने हो भन्ने दृष्टिकोणमा सबैले दुई/तीन मिनेट राख्नुपर्छ। बाहिर अनेकौं तर्क राख्ने। पार्टीको बैठकमा केही नराख्ने। केही सिमित मान्छेहरूले मात्रै राख्ने अवस्थाले अहिलेको अवस्थालाई नेतृत्व गर्न सकिँदैन,' तामाङले भनेका थिए।
तामाङलाई बीचमा रोकेर महासचिव देव गुरूङले ती सबै विषयवस्तु समूहगत छलफलमा पनि आउने बताएका थिए।
त्यसपछि सुदन किराती बोलेका थिए।
'आमाले त आफ्नो नानीको प्रतिनिधित्व गर्न सक्दैन भने यहाँ कसैले हाम्रो प्रतिनिधित्व गर्न सक्दैन। हामी आफै बोल्नुपर्छ,' किरातीले भने।
पूर्वपर्यटन मन्त्री समेत रहेका किराती माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन्।
शर्माले जेनजी आन्दोलनपछिको परिस्थितिमा अध्यक्षलगायत सबै पदाधिकारीले राजिनामा दिनुपर्ने र वरिष्ठ नेताको संयोजकत्वमा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव आइतबारको बैठकमा राखेका थिए। उनले पार्टीको नेतृत्वमा पुस्तान्तरणको विषयलाई जोडतोडले उठाउँदै आएका छन्।