राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले प्रेम आचार्यदेखि जेनजीसम्मको बलिदानको पहरेदार रास्वपा बन्नुपर्ने धारणा राखेका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा लिखित राजनीतिक प्रस्ताव पेस गर्दै सहमहामन्त्री आचार्यले आन्दोलनमा ‘घुसपैठ भयो’ र ‘विध्वंस भयो’ भनेर युवाहरूको प्राण आहुतिको अवमूल्यन भइरहेको भन्दै पार्टीले यसको खबरदारी गर्नुपर्ने धारणा राखेका हुन्।
‘२०८२ भदौ २३ र २४ गते देशमा जे भयो–त्यो प्रदर्शन थियो कि क्रान्ति? यसबारे बहस चलिरहला। तर असोजको आठौं दिनसम्म आइपुग्दा जेनजी प्रदर्शनको क्रममा सडकबाट युवाहरूले जुनखालको सन्देश र संकेत दिए, त्यसको अपनत्व कसैले लिन नखोज्ने र पानीलाई धमिलो बनाएर माछा मार्न खोज्ने जोखिम देखिएको छ। कतिपयले यसलाई नेतृत्वहीन आन्दोलन भन्दै आन्दोलनको मूल मुद्दालाई अवमूल्यन गर्ने संकेत पनि देखाएका छन्,’ उनले बैठकमा भने।
जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि सुधारको राजनीतिका माग राख्नेहरूको भावभूमि होइन उनीहरूको भावना, ऊर्जा र परिवर्तनप्रतिको संकल्प ठूलो हुने बताए। यसका साथै उनीहरूले समाज परिवर्तनका खातिर दिएको बलिदान महत्त्वपूर्ण हुने बताए।
जेनजी प्रदर्शनले उठाएका मुद्दाहरू रास्वपाका मुद्दासँग सबैभन्दा नजिक रहेको भन्दै परिवर्तनको जगेर्ना गर्न रास्वपाले इमान्दार प्रयत्न गर्नुपर्ने उनले खाँचो औंल्याएका थिए।
‘यो देशमा भ्रष्टाचार र कुशासन कति मौलाएको छ, र त्यसलाई जोगाइराख्न पुरानो राज्यसत्ता कति उद्दण्ड छ यसबारे युवाहरूको आक्रोश र शान्तिपूर्ण प्रस्तुति गर्न खोज्दा छाती र टाउको ताकी–ताकी बर्सिएका गोलीहरूले पुष्टि गर्छन्,’ उनले भने।
अहिले आन्दोलन कसरी सुरु भयो? माग के थियो? उद्देश्य के थियो? कति दिन लाग्यो? आन्दोलनमा को छिर्यो? कसको ग्रान्ड डिजाइनमा आन्दोलन भयो? जस्ता प्रश्न तेर्साएर जीवन उत्सर्ग गरेका नवयुवाको प्राण आहुतिको अवमूल्यन भइरहेको पनि उनले बतँएका थिए।
‘पुरातन पार्टीहरूले जेनजीहरूको प्रदर्शनको पूर्वसन्ध्यामा यसको अस्तित्व नै अस्वीकार गरिरहेका बेला, हामीले उनीहरू सडकमा आउनुलाई उल्लेखनीय राजनीतिक परिघटना मानी उनीहरूको शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गर्यौं यो अर्को भुल्न नहुने तथ्य हो,’ उनले भनेका थिए।
रास्वपा यो परिवर्तनको सारथि बन्यो कि साक्षी वा अन्य केही? यसको मूल्यांकन गर्ने दायित्व इतिहासकै भएको उनको विश्लेषण छ। लामो राजनीतिक यात्रा तय गर्न खोजेको पार्टी र त्यसको नेतृत्वसँग कहिले लाखौं जनमानस हुने त कहिले केही मात्रै हुने तथ्य नभुलेर तत्कालीन लाभ र हानी नहेरी देशलाई सर्वोपरि राख्नुपर्ने उनले बताएका थिए।
‘पार्टीभन्दा माथि सदैव देशलाई राख्ने भएका कारणले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको कुशासनको दुष्चक्रका कारण आत्मदाह गर्न बाध्य प्रेम आचार्यदेखि कुशासनविरूद्ध लड्दा शहादत प्राप्त गर्ने नवयुवा पुस्ताको बलिदानको सबैभन्दा ठूलो पहरेदार हुनुपर्छ भन्ने कुराको बोध छ,’ उनले भनेका छन्।
पार्टीले स्थापनाकालदेखि नै वाचापत्र, प्रस्तावना वा अन्य दस्तावेजमार्फत लिपिबद्ध गरेका एजेन्डाहरूलाई जेनजी समूहले उठाएर त्यसको प्राप्तिका लागि जीवनसम्म अर्पण गरेको आचार्यले उल्लेख गरेका थिए।
अब रास्वपाको यात्रामा ती सबैको ‘बलिदानको ऋण’ थपिएको उनको बुझाइ छ।
‘यो सानो जिम्मेवारी होइन, यो जिम्मेवारी हामी कत्तिको इमानदार भएर निर्वाह गर्छौं भन्ने कुराले नै हामी इतिहास बन्ने कि इतिहास लेख्ने यात्रा निर्धारण गर्नेछ,’ उनले भनेका छन्।
२०६२–६३ को आन्दोलनमा व्यक्त जनादेश तथा जेन जी आन्दोलनको म्यान्डेटलाई समेत सम्बोधन गर्न सक्ने गरी लोकतान्त्रिक, उदार मूल्य–मान्यता, पारदर्शिता एवं जवाफदेहिताको बलियो जगमा राष्ट्रिय स्वतन्त्र पार्टी विस्तारित हुनुपर्ने आचार्यको राजनीतिक दृष्टिकोण छ। यसका लागि रास्वपाले नागरिकसँग प्रत्यक्ष रूपमा जोडिने विधिहरू तय गर्नुपर्ने उनले बताएका छन्।
‘जसले गर्दा पार्टी र नागरिकबीच कहिल्यै दूरी नहोस् र आर्थिक विकास र समृद्धिसहितको युगान्तकारी परिवर्तनको नेतृत्व पार्टीले गरोस् भन्ने नागरिकको चाहना, आकांक्षा र हुटहुटी पार्टीले ग्रहण गर्नुपर्छ। नेपाली नागरिकहरू हामीलाई त्यो म्यान्डेट दिन खोजिरहेका छन्। म्यान्डेट ग्रहण गर्न दूरदर्शिता, जानेर वा नजानेरै भएका गल्तीहरूको बोध गर्ने इमान्दारी र सबैलाई अटाउन सक्ने विशाल हृदय प्रस्तुत गर्न आवश्यक छ,’ उनले प्रस्तावमार्फत् भनेका थिए।