काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटर पुगेर भेटेका छन्।
मेयर शाह र प्रधानमन्त्री कार्कीबीच बुधबार भेटवार्ता भएको थियो।
मेयर शाहले प्रधानमन्त्री कार्कीलाई दुई विषयमा मात्रै ध्यानाकर्षण गराएका थिए।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा गोली चलाउनेमाथि कारबाही र जेनजीका कुरा सुनुवाइ हुनुपर्ने कुरा मेयर शाहको थियो।
भदौ २३ गते काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो।
मेयर शाहले यस घटनामा दोषीहरूमाथि छानबिनमा किन ढिलाइ भएको र दोषीमाथि अहिलेसम्म किन कारबाही नभएको भन्ने विषयमा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएको स्रोतको भनाइ छ।
‘जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली हान्ने गैरजिम्मेवार व्यक्तिहरूलाई तुरून्त कारबाहीमा ल्याउनुपर्यो,’ मेयर शाहले प्रधानमन्त्री कार्कीसँग भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।
साथै मेयर शाहले जेनजीहरूले भनेका कुरा सरकारले सुनुवाइ गर्नुपर्ने बताएका थिए।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा भदौ २३ र २४ गतेको घटना छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरी कार्यादेश दिइसकेको छ।