नेपाली कांग्रेस सुदूरपश्चिमका केही नेताहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशन माग गर्न भइरहेका हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने र विभाजनतिर लैजाने बताएका छन्।
केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश समितिका कार्यवाहक सभापतिलगायतले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीमा अहिले एकताको आवश्यकता रहेको उल्लेख गरेका हुन्।
नियमित महाधिवेशनमा सभापति शेरबहादुर देउवाले अब विधानअनुसार सभापति नलड्ने भनेको कुरा मनन गर्न पनि उनीहरूले विशेष महाधिवेशन वा नियमित महाधिवेशन माग गरिरहेका पदाधिकारीहरूलाई लक्ष्य गर्दै भनेका छन्।
‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
हालै सभापति देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट १०९ जनाले सामूहिक विज्ञप्ति निकालेर विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरूवात गरेका थिए।
कांग्रेसभित्र पार्टीलाई सुधार गर्नुपर्ने र त्यसका लागि नेतृत्व परिवर्तनको आवाज उठेको छ भने सभापति देउवा पक्षले भने अहिले नै देउवाले नेतृत्व छाड्न नहुने मत देखिन्छ।