नेविसंघमा आबद्ध रहेका नेपाली कांग्रेसका महाधिवेशन तथा महासमिति सदस्यहरूले पार्टी रूपान्तरणबारे छलफल गरेका छन्।
पछिल्लो समय पार्टीमा नियमित वा विशेष महाधिवेशनको बहस भइरहेको छ।
त्यही अवस्थालाई मध्यनजर गर्दै पार्टीको आमूल परिवर्तन र रूपान्तरणका सन्दर्भमा उनीहरूले छलफल गरेका हुन्।
कांग्रेस भित्रको बृहतर एकता र सच्चिने प्रतिबद्धतासहित रुपान्तरण लगायत यस क्रममा पार्टीलाई पुन: एक ढिक्का बलियो बनाउन र युवा पुस्ता सँगसँगै पार्टीको भविष्यलाई समेत ध्यानमा राख्दै केही सैद्धान्तिक अवधारणासहित प्रारम्भिक छलफल भएको नेविसंघ नेता तथा कांग्रेस महासमिति सदस्य विनोद शाही ठकुरीले जानकारी दिए।
‘हाम्रो पुस्ताले पार्टीको नीतिगत तहमा हाम्रो भूमिकालाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेबारे सुझाव र प्रस्ताव पेस गर्न अनुरोध गरिन्छ। त्यसैलाई छलफलमा लिएर सर्वसहमतिमा हाम्रा अवधारणालाई सार्बजनिक गरिनेछ,’ उनले भने।
छलफलमा कांग्रेसका महासमिति सदस्य प्रेमिका रानामगर, सृजना मल्ल, गीता ईन्द्रा गुरुङ, सन्जिब ढकाल, धर्मराज शाही, लक्ष्मी सिलवाल, पूजा फुयाँल, मुकेश घिमिरे, करिना पुरी, मदन उपाध्याय, राज थेवेलगायत थिए।
पार्टीभित्र युवापुस्ताको समय सापेक्ष साझा धारणा तय गर्न थप नेताहरूसँग पनि परामर्श गर्दै जाने उनले बताए।