नेपाली कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने भन्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले क्षेत्रीय सभापतिहरूबाट सुझाव दिएका छन्।
उनले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्तर्क्रिया गरेका हुन्।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरूको प्रतिक्रिया र सुझाव आउने क्रम बढेपछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका छन्।
पौडेलले स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग कुराकानीसमेत गरेका छन्।
नेता पौडेलले गरेको भर्चुअल अन्तर्क्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापति सहभागी थिए। उनीहरूले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताएका थिए।
नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने तयारी गरेका छन्।
‘नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्, नेता पौडेलले भने, कसरी र कस्तो रुपान्तरण आवश्यक हो भनेर अन्तर्क्रिया गरेको हुँ,’ उनले भने।
नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता र नेताबाट प्राप्त सुझाव र विज्ञसँगको थप छलफलपछि दस्तावेजसहित प्रस्तुत हुने बताएका छन्।
यो पनि: कांग्रेसमा विशेष महाधिवेशन माग गर्न सुरू भयो हस्ताक्षर, हिजै जुटे १०९ प्रतिनिधि