निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि भरपर्दो सुरक्षा प्रबन्ध गराइदिन अनुरोध गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर प्रधानमन्त्री कार्कीलाई भेटेका थिए।
भेटमा आयुक्त भण्डारीले सरकारको तर्फबाट भरपर्दो सुरक्षाको प्रबन्ध गराइदिन अनुरोध गरेको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
‘नेपाल सरकारका तर्फबाट भरपर्दो सरुरक्षा प्रबन्ध मिलाक्षदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक सामज एवं सञ्चार जगत लगयत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास छ,’ भण्डारीको भनाइ उदृत गर्दै भट्टराईले भने।
आयुक्त भण्डारीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक पर्ने तपेटिकालगायत सामग्रीहरू मौज्दात रहेको, नभएका अन्य सामग्री पनि स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिइने बताएका थिए।
खरिद प्रक्रिया प्रतिस्पर्धात्क तरिकाले गरिने उनले बतएका थिए। राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्यायी रूपमा सम्पन्न गर्न सरकारको उच्च प्राथमिकता रहेको बताएकी थिइन्।
‘सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नु भयो,’ प्रवक्ता भट्टराईले प्रधानमन्त्री कार्कीको भनाइ उदृत गर्दै भने।