राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नख्खु कारागारमा प्रदर्शनकारीले आगो लगाउँदै गर्दा आफूले रोक्न खोजेको बताए।
मंगलबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले आगलागी रोक्ने एउटा राजनीतिज्ञको धर्म भएको पनि बताए।
‘त्यो आगलागी हुँदै गर्दा त्यो आगलागी रोक्ने एउटा राजनीतिज्ञको धर्म होइन? नलगाउनुस्, आगो लगाउने होइन भनेर रोक्न जाने मेरो कर्तव्य होइन?’ उनले प्रश्न गरे।
सभापति रवि लामिछाने दुई सय मिटर टाढा रहेको र आगो लगाएको अभियोग पार्टीलाई लाग्छ भन्ने भयले पनि आफूले आगजनी रोक्न खोजेको उनको प्रष्टीकरण दिए।
‘तिम्रो पार्टी सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगायो भन्छन् भन्ने डरले पनि गएको। तर रोक्दै गर्दा रातो टिसर्ट लगाएको मानिसले तपाईंलाई हातपात गर्छन्, नजानुस्, कुट्छन् भनेपछि फर्किएको हुँ। धेरैले जनता भन्नुभयो। तर मैले त्यो भीडको रूपमा बुझेँ। जसको विवेक हुँदैन। मलाई पनि आक्रमण हुनसक्छ भनेर म सुरूक्क फर्किएँ,’ उनले भने।
गत भदौ २४ गते नख्खु कारागारबाट सभापति लामिछानेलाई निकालिएको थियो।
सभापति लामिछाने निस्किनुपूर्व नै उत्तेजित भिडले कारागार तोडफोड र आगजनी सुरू गरेको थियो। प्रवक्ता झा उक्त भिडमा देखिएको भन्दै टीकाटिप्पणी भएको थियो।