दाङको घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयले चकटीमा बसेर सेवा दिन सुरू गरेको छ।
कार्यालयका सबै फर्निचरहरू तोडफोड र आगजनीबाट नष्ट भएको हुँदा भुइँमै चकटी राखेर सेवा दिन सुरू गरिएको वडाध्यक्ष रमेशकुमार पाण्डेले बताए।
‘अहिलेको अवस्थामा जहाँबाट जसरी सम्भव हुन्छ, त्यसरी नै नागरिकलाई सेवा दिने हो,’ उनले भने, ‘तत्काल वडा कार्यालयका सबै फर्निचर नष्ट भएको हुँदा चकटी किनेर ल्याएर भुइँमै बसेर सेवा सुरू गरिएको हो।’
मगै गाउँका स्थानीयले दुई वटा चकटी र बिरा कार्यालयमा सहयोग स्वरूप ल्याइदिएको हुँदा त्यसैमा बसेर सेवा सुरू गरिएको उनले बताए।
कर्मचारीले कम्प्युटर पनि चलाउनु पर्ने भएको हुँदा उनीहरूका लागि भने केही प्लाष्टिकका कुर्सी र टेबुल ल्याइएको वडाध्यक्ष पाण्डेले जानकारी दिए।
‘जनताको काम रोकिनु हुँदैन भन्ने हो,’ उनले भने ‘ हामीले अवस्था हेरेर जस्तो अवस्था छ, त्यस्तै ठाउँमा बसेर सेवा प्रवाह गर्ने निर्णय गरेका हौं।’
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी भएको थियो।
वडाध्यक्ष पाण्डेका अनुसार कार्यालयका सम्पूर्ण सामग्री तोडफोड र आगजनीबाट नष्ट भएका छन्।