वीरगञ्ज महानगरपालिका वडा नं २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले अलपत्र सडक निर्माणका लागि सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी मार्फत सहरी विकास तथा मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका हुन्।
वडा नम्बर २०, २७ र १८ लाई जोड्ने सडकको ठेक्का ८ वर्षदेखि अलपत्र रहेको वडा अध्यक्ष सिंह बताउँछन्।
सडक निर्माणपछि हरपतगञ्ज हाईवे, अपौनी, उदयपुर घुर्मि, सौराहा लगायत टोलका बासिन्दा लाभान्वित हुन्छन्।
तर सडक डिभिजन कार्यालयको उदासिनताका कारण निर्माणको काम अलपत्र राखेर जनतालाई दुःख दिने काम भइरहेको उनको भनाई छ।
ठेकेदारले सडक बनाउनुको साटो गहिरो खाल्डो खनेर छोड्दा ती खाल्डोमा पानी जमेर हैजा, मलेरिया, डेगुँ जस्ता लामखुट्टेको टोकाईबाट सर्ने रोगबाट पीडित समेत भएको उनले बताए।
‘८ वर्षमा १३ पटक सडक निर्माणका लागि आग्रह गरिसकेका छौं, तर सुनुवाई भएको छैन,’ उनले भने, ‘त्यसैले मन्त्री ज्यूको ध्यानाकर्षण गराएको हुँ।’
गत आर्थिक वर्षको जेठ महिनामा निर्माण कम्पनीले केहि काम गरेको थियो। सडकको दुवै छेउमा नाला निर्माणका क्रममा बीचको २/२ फिट माटो काटेर हटाइदिएपछि त्यहाँ कुनै किसिमको फिल–अप वा ग्राभेल नहालेको उनी बताउँछन्। जसले गर्दा पानी जमेर सर्वसाधरणलाई आवतजावतमा कठिनाइ भइरहेको छ।
‘वडा कार्यालयको बजेटले पुग्ने भए गर्न हुन्थ्यो, तर पुग्दैन। ८ किलोमिटर बाटो खाल्डो खनेर लामो समयदेखि अलपत्र छोडिएको छ, ’ वडा अध्यक्ष सिंहले भने, ‘निकासका लागि आन्दोलन, चक्का जाम गरेका थियौं, ठेकेदारलाई घेराउ समेत गरेका हौं, केहि दिन काम गर्छ, त्यसपछि अघि बढ्दैन।’