राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार दिउँसो १ बजे कार्यसम्पादन समिति बैठक बस्दैछ।
उनका अनुसार परिवर्तित सन्दर्भमा राप्रपाको धारणा तय गर्न बैठक राखिएको हो।
बैठकपछि अध्यक्ष लिङ्देनले पार्टीको धारणा र बैठकको निर्णय सार्वजनिक गर्नेछन्।
उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीलगायतले पटक पटक केन्द्रीय कार्यसमिति र केन्द्रीय समिति बैठक राख्न यसअघि माग गरे पनि अध्यक्ष लिङ्देनले बैठक नै राखेका थिएनन्।
तर भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछिको परिस्थितिमा लिङ्देनले बैठक राखेका हुन्।
राप्रपामा मनोनीत केही पदाधिकारीमाथि अध्यक्ष लिङ्देनले कारबाही गरेको विषयलाई लिएर केही समयदेखि मतभेद छ।