नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दल र दलहरूले गरेको योगदान मेट्ने प्रयास भएको बताएका छन्।
भदौ २४ गते प्रदर्शनकारीहरूले जलाइदिएको घर बिहीबार अवलोकन गर्दै नेता सिंहले राजनीतिक दलका नेताहरूको घरमा तोडफोड र आगजनी गरिनुले जेनजी आन्दोलनको आडमा दलको योगदान मेट्ने प्रयास भएको बताएका हुन्।
'आन्दोलनकै क्रममा विराटनगरमा कोइराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने,' उनले भने, 'यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ।'
उनले आगलागी र तोडफोड भएको घटनामा निष्पक्ष छानबिन गर्नुपर्ने बताए।
उनले लोकतन्त्रमा दलहरूको भूमिका महत्त्वपूर्ण भए पनि त्यसलाई निमोठ्न खोजिएको बताए।
'दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ। यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नुपर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ। जलाएर केही हुने होइन।शुन्यतामा कसैले केही गर्न सक्दैन,' उनले भने।
नेता सिंहले प्रदर्शनमा घुसपैठ भएको पनि बताए।
'यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ,’ उनले भने। -न्युज एजेन्सी नेपाल