ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन्।
बुधबार अपराह्न सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्।
काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाइ थियो।
उनले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान नै संचालन गर्ने कार्ययोजना रहेको पनि बताए।
मन्त्री घिसिङले भने, ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ। देशविदेशमा रहेका सबै नेपाली जनताहरूले देशलाई समृद्धितर्फ ल्याउनलाई हामीले पनि योगदान गर्नुपर्छ भन्ने यो अभियान हुनेछ। त्यसबाट नपुगे सरकारले अरू पनि व्यवस्था गर्छ। ठूलो क्षति भएको छ। यहाँ काठमाडौंमा मात्र होइन, देशभरि क्षति भएको छ। त्यो क्षतिको जुन एसिस्मेन्ट छ। त्यो चाँडै आउँछ।’
मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताए। —न्युज एजेन्सी नेपाल