नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो पार्टी कार्यालय पुगेका छन्।
मंगलबार बिहान उनी काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेका हुन्।
उनलाई पार्टीका नेताहरूले घेरेर कार्यालय पुगेका हुन्।
उनलाई शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा राखिएको थियो। उनीसहित शीर्ष नेताहरूलाई शिवपुरीमा राखिएको थियो।
नेताहरू त्यहाँबाट घर फर्किन थालेका छन्।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफ्नो घरको अवलोकन गर्न पुगेका थिए।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा कयौं युवाहरूको मृत्यु भएको छ।
सुरूमा बानेश्वरमा प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो।
भोलिपल्ट थप प्रदर्शन हुँदा प्रदर्शनकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको घरमा आगजनी गरेका थिए। तीन वटै पार्टी कार्यालयमा समेत आगजनी गरेको थियो।
त्यसैगरी काठमाडौं उपत्यकामा रहेका अधिकांस प्रहरी कार्यालयका भवनहरूमा समेत तोडफोड तथा आगजनी गरिएको थियो।