नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे।
बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए।
प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ।
भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र छिरेर सभापति देउवा र आरजु रहेको कोठामै पुग्छन्।
प्रदर्शनकारीलाई सभापति देउवा र आरजुको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा देउवाका स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवाले आक्रमण नगर्न अनुनयविनय गर्छन्, तैपनि प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई लछारपछार गर्दै आँगनमा पुर्याउँछन् र थप कुटपिट गरेको देखिन्छ।
तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि एक युवाले पछाडिबाट लात्तीले हानेको भिडिओसमेत सामाजिक सञ्जालमा देखिन्छ भने आरजु सम्हालिन नसकेर भुइँमा लडेकी थिइन्। त्यसबेला केही प्रदर्शनकारीहरूले भने देउवा दम्पतीलाई सहयोगसमेत गरेका थिए।
सभापति देउवा र आरजुको शरिरका विभिन्न भागमा चोट छ। सभापति देउवाको गर्धन र ढाडमा चोट छ।
‘धारिलो हतियार वा सिसाले प्रहार गरेकोजस्तो चोट सभापतिको गर्धनमा छ,’ निकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘आरजु भाउजूको गर्धनलगायत शरिरमा चोट छ भने अनुहारमा मुक्का प्रहार गरेको भएर हो कि सुन्निएको छ, निलडाम देखिन्छ।’
प्रदर्शनकारीहरू बूढानीलकण्ठस्थित देउवा चोकमा भेला भएदेखि नै कार्यकर्ताहरूले घरबाट बाहिर सुरक्षित स्थानमा जान सभापति देउवा दम्पतीलाई आग्रह गरेका थिए। तर सभापति देउवाले 'घरमै सुरक्षाकर्मी छन्, सुरक्षा दिइहाल्छन्, मार्न आए भने घरमै मर्छु, किन भाग्ने' भनेको निकट स्रोतको भनाइ छ।
साथै भ्रातृ संस्था नेपाल तरूण दल लगायतले सभापति देउवालाई सुरक्षा दिन आउँछु भने पनि सभापति देउवाले 'भो, पर्दैन' भनेको नेताहरू बताउँछन्। त्यस बेला प्रदर्शनकारीहरूले नेताका घर खोजीखोजी आगजनी गरेका थिए।
सभापति देउवालाई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतले सुरक्षा दिएको थियो। उनकी पत्नी त्यसबेला परराष्ट्र मन्त्री रहेको र मन्त्री क्वार्टरमा नबसी घरमै बसेकोले पनि बूढानीलकण्ठमा थप सुरक्षा उपलब्ध गराइएको थियो।
तर प्रदर्शनकारीको भिडका बीच बूढानीलकण्ठमा तैनाथ सुरक्षाकर्मीले सभापति दम्पतीलाई आक्रमण गर्नबाट जोगाउन सकेनन्, प्रदर्शनकारीहरूले घर पनि जलाइदिएका थिए। घरभित्र रहेका नगदलगायत जलेको भिडिओहरू पनि बाहिरिएको छ।
भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण र घर, गाडी लगायतमा आगजनी भएको थियो।
त्यसबेला जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको आन्दोलन चलिरहेको थियो। भ्रष्टाचारविरूद्ध र केपी शर्मा ओली नेतृत्वको कांग्रेस सहभागी सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए।
भदौ २३ को प्रदर्शनमा काठमाडौंमा १७ जनाको मृत्यु भएपछि भोलिपल्ट प्रदर्शनकारीहरूले नेताका घर र सरकारी कार्यालयमा आगजनी गरेका थिए।
प्रदर्शनकारीको कुटपिटमा पर्नुअघि आरजु राणा देउवाले छोरालाई फोन गरिरहेकी थिइन्, त्यसबेला जयवीर कहाँ थिए यकिन छैन।
सभापति देउवा दम्पतीमाथि आक्रमण भएको केही समयपछि बूढानीलकण्ठमा थप सुरक्षाकर्मी परिचालन भएका थिए।
नेपाली सेना र सेनाकै हेलिकप्टर पनि लगिएको थियो, तर प्रदर्शनकारीहरूको ढुंगा हानाहानका बीच हेलिकप्टर सुरूमा अवतरण गर्न सकेको थिएन।
काँडेतार लगाइएको घरको कम्पाउण्डबाट भर्याङको सहायताले देउवा दम्पतीलाई बाहिर चौरमा लगिएको थियो। त्यसबेला नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि आए पनि देउवा दम्पती र सुरक्षाकर्मीहरूमाथि ढुंगा प्रहार भइरहेको थियो।
हेलिकप्टर अवतरण गर्न नसकेपछि प्रदर्शनकारीहरूले हानेको ढुंगाबाट जोगाउन सुरक्षाकर्मीले देउवा दम्पतीलाई जस्तापाताले ढाकेर धेरै बेरसम्म राखेका थिए। पछि हेलिकप्टर अवतरण भयो र उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको थियो।
६ दिनदेखि सभापति देउवा दम्पतीको काठमाडौं उपत्यकाभित्रकै एक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको उपचार गरिएको अस्पतालको नाम र देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे केही पनि जानकारी सार्वजनिक गरिएको छैन।
सभापति देउवानिकट स्रोतका अनुसार सुरक्षाका दृष्टिकोणले गर्दा कुन अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था कस्तो छ भनेर सार्वजनिक नगरिएको हो।
‘सभापति देउवा दम्पतीकै स्वास्थ्य अवस्था सुधारोन्मुख छ भनेर चिकित्सकहरूले भन्नुभएको छ, परिवारका सदस्य र नजिकका आफन्तबाहेक अरूलाई भेट गर्न दिइएको छैन,’ स्रोतले भन्यो, ‘अझै एक साताभन्दा बढी अस्पतालमा राख्नुपर्छ भन्ने कुरा छ। दुवै जनाको शरिरमा गहिरो चोट छ।’
नेपाली कांग्रेसका नेताहरूले पनि सभापति देउवालाई भेट्न पाएका छैनन्।
उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवासँग फोनमा कुराकानी भएको बताए।
‘सभापतिज्यूलाई भेट्न पाएको छैन, फोनमा भने निरन्तर कुराकानी भइरहेको छ, स्वास्थ्य अवस्था ठीक हुँदै गएको छ भनेर भन्नुभएको छ,’ उपसभापति खड्काले सेतोपाटीसँग भने।
उपसभापति खड्काले विज्ञप्ति निकालेर सभापति देउवामाथि अमानवीय र बरबर्तापूर्ण आक्रमण भएको उल्लेख गरेका छन् भने स्वास्थ्यलाभ कामनासमेत गरेका छन्।
सभापति देउवा ७९ वर्षका छन् भने आरजु ६३ वर्षकी भइन्।
सभापति देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् भने दोस्रो कार्यकाल कांग्रेस सभापति छन्।
यो पनि: कांग्रेस अब कसरी अघि बढ्ला? कसको नेतृत्वमा चुनावमा जाला?