नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले अन्ततः आफैले निर्माण गरेको पार्टी छाडेका छन्।
पत्नी रञ्जिता चौधरीसँग लामो समयदेखि रहेको बेमेल र अन्तरविरोधले उनीहरूलाई दुई किनारा बनाएको हो। पत्नी रञ्जिता अहिले नाउपाका अध्यक्ष छिन्।
यसअघि पत्नी रञ्जितालाई पार्टीबाट हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेपछि संरक्षक चौधरीले फरक यात्राबारे सोचिसकेका थिए।
आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत् उनले पार्टीमा नरहने र अलग यात्रा तय गर्ने उद्घोष गरे।
‘आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु। उन्मुक्ति पार्टीमा म आजबाट हुन्न। अलग अभियानको घोषणा गर्छु। मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।
सेतोपाटीसँग कुरा गर्दै रेशम चौधरीले नाउपालाई आफ्नो राजनीतिक दर्शन, सिद्धान्त, विचार र टीकापुर विद्रोहको पथमा हिँडाउन, त्यसको मूल्यलाई आत्मसात गर्न नसकेपछि आफू बाहिरिएको उनले बताए।
‘आफ्ना विचार र सिद्धान्त लागु गर्न नसकेपछि छाडेको हुँ,’ उनले भने।
यसप्रति कसैलाई दोषारोपण गर्न नचाहने चौधरीले बताए। रेशम चौधरीले २०७२ भदौ ७ गतेको टीकापुर घटनामा प्रमुख दोषी ठहर भइ आजीवन कारावासको सजाय काटेका बेला डिल्लीबजार कारागारभित्रै नाउपा गठन गरेका थिए। आफू गम्भीर प्रकृतिको फौजदारी कसूर प्रमाणित भई जेल सजाय काटिरहेकाले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी दर्ता गरेका थिए।
‘कसैलाई केही दोष छैन। आरोपित पनि गर्न चाहन्नँ। यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद,’ उनले भने।
उनले अब नयाँ पार्टी गठन गर्ने बताए। त्यो यात्राको आरम्भ भइसकेको उनको भनाइ छ।
‘पार्टी निर्माण गर्दाका साथीहरू पनि मसँगै आउनुहोला। जसलेजसले विश्वास गर्नुभएको छ, मेरो नेतृत्वमाथि विश्वास गर्ने साथीहरू मसँगै जानुहोला विश्वास राखेको छु,’ उनले भने।
टीकापुर विद्रोहसँगै गाँसिएर आएको पहिचानको मुद्दाको लिकबाट पार्टी बाहिर गएको बताए। त्यसको मर्मको जगेर्नाका लागि पनि फरक बाटो हिँड्नुपरेको उनको भनाइ छ।
‘पार्टी पहिचानको मुद्दाको ट्रयाकभन्दा बाहिर गयो। त्यसकारण नयाँ पार्टी निर्माणको गरेर प्रशिक्षणसहित यो देशका सम्पूर्ण समूदायको पीडा, अपेक्षालाई सम्बोधन गर्ने गरी नयाँ पार्टीको निर्माण गर्ने मैले उद्घोष गरेँ। यही बाटो बनाएर जान्छु,’ उनले भने।
संघ–प्रदेशमा गरी नाउपाका १६ सांसद थिए। नाउपाको सुदूरपश्चिम, लुम्बिनी र मधेसमा प्रतिनिधित्व छ। सुदूरपश्चिम प्रदेशमा सात जना सांसद छन्। लुम्बिन प्रदेशमा चार जना सांसद छन्। मधेस प्रदेशमा १ जनाको प्रतिनिधित्व छ।
संघमा चार जना सांसद थिए। संघमा पत्नी रञ्जिता, बाबु लालवीर, अरूण चौधरी र गंगाराम चौधरी सांसद थिए।
राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाइ बाहिर आएपछि उनी र पत्नी रञ्जिताबीच बेमेल देखिएको थियो।
उनले २०८० पुस मा पहिलो महाधिवेशन गरेर आफूलाई अध्यक्ष पनि निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले वैधता दिएन।
त्यसपछि उनले २०८२ साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी रञ्जितलाई अध्यक्षबाट हटाएर पिता लालवीरलाई अध्यक्ष बनाएका थिए।
त्यसलाई पनि निर्वाचन आयोगले वैधता दिएन। लालवीर नाउपाको संस्थापक २१ जनामध्ये थिएनन्। साथै अध्यक्षले मात्रै बोलाउन पाउने राष्ट्रिय भेला अरूले बोलाएको भन्दै निर्वाचन आयोगले त्यसलाई पनि अवैध भनेको थियो।