गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भौतिक संरचना चलेर खण्डहर भए पनि आत्मबल जल्न नसक्ने बताएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालय र निजी आवासदेखि व्यवसाय जलेर नष्ट भएपछि मन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
‘भौतिक सम्पत्तिहरू जलेर खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन,’ उनले भनेका छन्, ‘तपाईंहरू सबैको सद्भाव र साथले मलाई यो खरानीभित्रै नयाँ आशाको बिउ रोपेर फेरि उठ्ने दृढसंकल्प दिएको छ।’
मन्त्री थापाले आफूले दशकौंको घाम पानी, आँसु र मेहनतले कमाएको सम्पत्ति नियोजित रूपमा खरानी पारिएको पनि बताएका छन्।
भदौ २३ र २४ गतेका दिन जीवनमा कहिल्यै नबिर्सिने घाउ बनेको भन्दै उनले भदौ २३ गते राज्यका तर्फबाट जेनजी आन्दोलनमा कलिला युवाहरूको ज्यान गुप्दा पीडाबोध भएको पनि उल्लेख गरेका छन्।
जेनजी पुस्ताको माग र प्रदर्शनप्रति आफ्नो नैतिक समर्थन रहेको भन्दै उनले आन्दोलनलाई आपराधिक समूहले अपहरण गरेर त्यसैको बहानामा आफ्नो घर नियोजित रूपमा लुटपाट, तोडफोड र आगजनी गरेको पनि बताएका छन्।
आफू सधैं इमान र पारदर्शितामा अडिएको दाबी गर्दै मन्त्री थापाले राष्ट्र बैंकको जागिरले सुरू भएको यात्राले २०६० सालमा अवकाशपछि नयाँ मोड लिएको बताएका छन्।
जागिरबाट पाएको उपदान र पैत्रिक सम्पत्तिलाई आधार बनाएर मोटरसाइकल वर्कसपको सानो कोठाबाट व्यवसाय सुरू गरेर तीन दशकमा रि–कन्डिसन, अटोमोबाइल, वित्तीय संस्था, घरजग्गा आवास, आतिथ्य र पर्यटनसम्म विस्तार भएको पनि उल्लेख गरेका छन्।
मन्त्री थापाले आफ्नो इमान र श्रमलाई कलंकित पार्दै भ्रष्टाचारको आरोप लगाएको र उक्त आरोप निराधार भएको पनि उनले बताएका छन्।
आफू सांसद र मन्त्री हुँदा पाएको तलब, भत्ता लगायत सुविधा पनि विपदमा परेका असहाय, बिरामी र बेसहारा परिवारका लागि खर्च गर्दै आएका बताएका छन्।
लेकसाइडको अंशुभरा स्क्वायरमा काम गर्ने महिलालाई आगो लगाएर ज्युँदै जलाएको भन्दै उनले आपराधिक क्रियाकलापको छानबिन गरी कारबाही गर्न माग पनि गरेका छन्।