विभिन्न विद्यार्थी संगठनका पूर्व पदाधिकारीहरूले भदौ २३ र २४ गते भएको घटनामा छानबिन हुनुपर्ने माग राखेका छन्।
जेनजीको प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै उनीहरूले निष्पक्ष छानबिनको माग गरेका हुन्।
बैठकले घुसपैठकर्ताहरूको पनि कारबाही हुनुपर्ने बताएका छन्।
उनका अनुसार घुसपैठका कारण नेपालले अर्बौं रुपैयाँ क्षति भोग्नु परेको छ र मुलुकको आधारभूत पूर्वाधार पनि प्रभावित भएको छ।
यो बैठक पूर्वसंविधान सभा सदस्य रञ्जित कर्णाले संयोजन गरेका थिए, जसमा सहभागी नेताहरूमा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष हिमाल शर्मा, रमेश मल्ल, रञ्जित तामाङ, पूर्वविद्यार्थी नेता माधव ढुंगेल, किशोर विक्रम मल्ल, सांसद नविना लामा, नेविसंघका पूर्व महामन्त्री सरोज थापा, पूर्वउपाध्यक्ष पुष्पा शाही नेविसंघ पूर्वउपाध्यक्ष भूपेन्द्रजंग शाही, युवा नेता खगेन्द्र आचार्य पूर्वकोषाध्यक्ष शिव रिमाल, जय नेपाल फाउण्डेशनका अध्यक्ष एवं नेविसंघका पूर्व कोषाध्यक्ष बद्री अर्याल रहेका थिए।
बैठकमा नेताहरूले २०६२/६३ सालमा आफूहरू जेनजी पुस्ता रहेको र त्यसबेला शासन गर्ने अवसर पाए पनि नगरेको दाबीसमेत गरेका थिए।
‘नयाँ प्रधानमन्त्री युवा पुस्ता (Gen Z) हुनुपर्छ, र हाम्रो संविधानमा कुनै सम्झौता हुन सक्दैन। यदि संविधानमाथि कुनै पनि प्रकारको समझदारी वा हस्तक्षेप भयो भने हामी २०६२/६३ जस्तै आन्दोलन गरेर हाम्रो संविधान जोगाउनेछौं,’ कर्णले भने।
नेताहरूले हालको राजनीतिक अवस्थाले अस्थिरता र अविश्वास बढाएको भन्दै भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डा बोकेका नयाँ पुस्ताका नेताहरूलाई समर्थन गर्ने विचारसमेत व्यक्त गरेका थिए।