नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते भएको घटनामा पार्टीका तर्फबाट माफी मागेका छन्।
त्यस दिन अकल्पनीय घटना भएको उनको भनाइ छ।
‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो, तपाईं र म सरकारमा थिएनौं तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,’ पार्टीका साथीहरूलाई अपिल भन्दै शुक्रबार महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश राखेका छन्।
उनले भदौ २४ गते ठूलो क्षति भएको बताए।
‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौं साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ- भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ।’
पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने उनले बताए। विगतमा पनि घाउचोटलाई बिर्सेर कांग्रेसले माओवादीसँग हात मिलाएको उल्लेख गर्दै उनले फेरि कांग्रेसको जिम्मेवारीमा फेरि यस्तै पहल चाहिएको बताए। ‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न साथीहरूले पहल लिनुहोस्,’ उनले भने।
अहिलेको स्थितिबाट देशलाई बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको पनि उनले बताए।
राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग पनि कुराकानी भइरहेको उनले बताए।
‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवत: आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ,’ महामन्त्री थापाले भने।
उनले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने उल्लेखसमेत गरेका छन्।
तीब्र दलीयकरणबाट नेपाली समाजलाई कांग्रेसले बाहिर निकाल्ने पनि उनको भनाइ छ।
उनले पार्टीलाई अनावश्यक भएका पार्टीभित्रका संस्था अब नराख्ने र गुटउपगुट अन्त्य गरिने पनि बताएका छन्।
भिडिओ: