प्रतिनिधि सभामा रहेका युवा सांसदहरू अनलाइन र टेलिफोन मार्फत् पछिल्लो राजनीतिक घटनाक्रमबारे द्विपक्षीय र बहुपक्षीय कुराकानीमा जुटेका छन्।
जेन–जीको माग सम्बोधन र निकासको बाटोबारे उनीहरूले कुराकानी गरेका हुन्। साथै निकासका लागि जेन–जी युवाहरूलाई सामूहिक अपिल गर्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ।
यस्तो कुराकानीमा नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी र जीवन परियार, नेकपा एमालेका योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, अमनलाल मोदी र राजन दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल जुटेका हुन्।
'हामीले बैठक गरेको होइन। कुराकानी गरिरहेका छौँ', कांग्रेस सांसद चन्द्र भण्डारीले भने, 'सांसद र नेताहरुसँग कुराकानी भइराखेको छ। जनार्दन शर्मा, घनश्याम भुसाल, मिनेन्द्र रिजाल, गगन थापाहरुसँग कुराकानी भइराखेको छ।'
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि सांसदहबीच कुराकानी चलिरहेको बताए।
‘कहिले एक दुई जनाको बीचमा त कहिले अलि धेरै जनाबीच कुराकानी गरिरहेका छौँ,’ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘संवैधानिक बाटो भित्रबाट निकास खोज्नुपर्छ भन्ने हाम्रो कुराकानी भएको हो।’
उनले छलफलमा भदौ २३ र भदौ २४ को दुवै घटना छानबिन गर्नुपर्छ भन्नेमा सांसदहरू एक ठाउँमा रहेको बताए।
‘अघिल्लो दिनको नरसंहार र भोलिपल्टको विध्वंस छानबिन गर्नुपर्छ भन्ने कुरा भएको छ,’ सापकोटाले भने, ‘जेन-जीलाई देखाएर गरिएको विध्वसंलाई गम्भीरतापूर्वक लिनुपर्छ।’
उनले जेनजी आन्दोलनको नाममा सैनिक शासन र 'बेबी किङ' का गन्ध आउन थालेकोबारे पनि छलफलमा कुराकानी भएको बताए।
‘बेबी किङ र सैनिक शासनको बाटो सम्भव छैन,’ सापकोटाले भने, ‘उन्नत प्रकारको लोकतन्त्रमा जाने गरी जेनजीहरूसँग हामीले कुरा गर्नुपर्छ भन्नेछ।’
युवा सांसदहरू संसद विघटन गरेर चुनावमा जान सकिने भए पनि अहिलेको समस्याको समाधान संवैधानिक र संसदीय रूपमा खोज्नुपर्ने पक्षमा रहेको उनले बताए।
‘जेनजीले उठाइरहेका सुशासनका मुद्दालाई तत्कालै संसदबाटै सकारात्मक रूपमा हल गर्न सकिन्छ। यो हामीले पनि उठाइराखेको विषय हो,’ सापकोटाले भने, ‘त्यसपछि संसद विघटन गरेर ताजा जनादेशमा जान सकिन्छ। समस्याको निकास संसद भित्रबाट गर्नुपर्छ। जेनजीको माग संसदबाटै सम्बोधन गर्न सकिन्छ।’
सापकोटाले सांसदहरूबीच अहिले अन्तरपार्टी व्यक्तिगत र सामूहिक छलफल चलिरहेको पनि बताए।
यसअघि तस्बिरमा अन्यथा पर्न गएकोमा सच्याइएको छ- सम्पादक