नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने बताएका छन्। जेन–जी आन्दोलनका कारण सत्ता पलट भएपछि पहिलोपटक एमालेका तर्फबाट धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले आफूहरूको भूमिकाको पनि आवश्यक आत्मसमीक्षा गर्ने र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने जानकारी दिएका हुन्।
‘स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने छ। हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने नै छ,’ महासचिव पोखरेलले भनेका छन्।
एमाले सबै खाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्वकालको दोहोरो हिंसा, सामाजिक विद्वेषका अत्यन्त प्रतिकूल परिस्थिति, प्राकृतिक विपत्तिहरू एवं नाकाबन्दी र महामारी जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरूमाथि विजय हासिल गर्दै यहाँसम्म आइपुगेको उनले बताएका छन्।
‘आजको प्रतिकूल अवस्था पनि यही रूपमा रहने छैन, अन्त्य भएर जानेछ। यस्तो विषम परिस्थितिमा केन्द्रीय सचिवालय सबै नेता कार्यकर्ताहरू, सदस्य र समर्थ– शुभेच्छुकहरू, जनप्रतिनिधि र जनवर्गीय संगठनका नेता कार्यकर्ता सहित सिंगो पार्टी पङ्क्तिलाई दृढ र एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ। ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरूको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई परेका पीरमर्कामा सम्भव सहयोग प्रदान गर्न पार्टी पङ्क्तिले स्वयंसेवी भूमिका खेल्नु पर्दछ।
प्रतिकूल अवस्थामा सबै कमरेडहरूसँग आपसी सम्पर्क र छलफलमा रहन, सम्बन्धित स्थानका संविधान– पक्षधर दलहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न एवं परिस्थिति अनुसार रचनात्मक ढंगले अघि बढ्न पनि आग्रह गर्दछौं। यतिबेला उच्च मनोबल कायम राख्नु, प्रतिकूलतालाई चिर्नु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु आवश्यक छ। राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने छ,’ उनले भनेका छन्।
एमालेले सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायत विभिन्न माग राखेर जेन–जी युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध भएको पनि बताएको छ।
घटनामा परी जीवन गुमाउने सबै युवाहरूप्रति पार्टी श्रद्धाञ्जली अर्पण गरेको पनि एमालेले बताएको छ।
‘ठूलो सङ्ख्यामा रहनुभएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफन्तको वियोगको पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। पार्टी उपरोक्त दुखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ भन्ने माग गर्दछ,’ उनले भनेका छन्।
त्यस घटनाको लगत्तै भदौ २४ गते देशव्यापी रूपमा आगजनी, तोडफोड, हिंसा र लुटपाटको त्रासदीपूर्ण दृश्य देखा परेको, संघीय संसद, राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार र त्यहाँ अवस्थित सबै मन्त्रालयहरू, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सबै जसो प्रहरी कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अख्तियार लगायत संवैधानिक निकाय र देशैभरिका विभिन्न सरकारी कार्यालय ध्वस्त भएको एमालेले बताएका छन्।
‘बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरू जलेर नष्ट भएका छन्। विभिन्न मिडिया हाउस, होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरूम, ब्यांक लगायत खर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएका छन्। १३ हजार भन्दा बढी कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्कँदा शान्ति सुरक्षामा गंभीर चुनौती थपिएको छ। राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरू निशाना बनाइएका छन्। कतिपय स्थानमा मान्छेहरू जिउँदै जलाइएका छन्। विकासका दृष्टिले मुलुकलाई दशकौं पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो राष्ट्र स्तब्ध भएको छ,’ एमालेले भनेको छ।
राष्ट्रले व्यहोर्नु परेको यस भयावह विनाशप्रति पार्टीले गहिरो चिन्ता व्यक्त गरेको सङ्लग्न दोषीहरू पहिचान गरेर कडा कानुनी कार्बाही गरिनु पर्ने उसको मान्यता छ।
‘आयोजकहरूबाट आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहने पूर्व घोषणा भएको थियो। घटनापछि पनि आगजनी, लुटपाट र तोडफोड जस्ता यस्ता घटनाहरूमा आफूहरूको कुनै सङ्लग्नता नरहेको जानकारी दिइएको थियो। आयोजकहरूले योजनाविपरीत यस्ता विध्वंसात्मक र विनाशकारी घटना कसबाट र कसरी घटाइए? यसको यथार्थ छानबिन हुनैपर्छ र सत्यतथ्य बाहिर ल्याइनैपर्छ। यस विध्वंशका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याइनु पर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ। यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि पनि समीक्षा हुनुपर्छ,’ एमालेले भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामापछि अबको राजनीतिक निकास संविधानसम्मत् रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको एमालेले बताएको छ।
‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्छ। यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं। यस्तो विषय परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ। स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ। संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौं,’ एमालेले भनेको छ।
असामान्य स्थितिको लाभ उठाउँदै अझै पनि देशका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेका प्रति एमालेले चिन्ता व्यक्त गरेको छ। यस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूको एमालेले गम्भीर ध्यानाकर्षण गरेको बताएको छ।


