नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर' ले जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने गरी संविधान अनुसार अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपमहासचिव शर्माले संवैधानिक बलविहीन सरकार बनाउँदा वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतीलाई समेत ध्यान दिन जरूरी रहेको बताएका हुन्।
'यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने गरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ,' शर्माले भनेका छन्, 'परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो सविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ। तर सबैलाई स्वीकार्य सरकार गठन गर्दासमेत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।'
संविधान बाहिरबाट सरकार गठन गरिए, त्यसले राज्यका सबै निकायको वैधानिकतामाथि प्रश्न खडा भइ अकल्पनीय अवस्था सिर्जना हुने हुने खतरा रहने पनि उनले बताएका छन्।
'वैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्नेबारे ध्यान दिन जरूरी छ,' उनले भनेका छन्।
उनले थपेका छन्, 'यति बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरा मध्यनजर गर्दै वैधानिक बाटोमार्फत समाधान निकाल्न लागी परौं।'
उनले राष्ट्रको संकट सबै नागरिकको सरोकारको र जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन्। आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न वैधानिकता आत्मसात गर्न सबैमा अपिल पनि गरेका छन्।
आन्दोलनमा भएको सरकारी दमनको भर्त्सना गर्दै उनले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने बताएका छन्।
आन्दोलन क्रममा भएको 'नरसंहारको छानबिन गरी दोषीलाई कठघरामा ल्याउन स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्छ' भन्ने उनको मत छ।
'भ्रष्टाचारको जालो अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक छ,' उनले भनेका छन्, 'राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं संकटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईको भनिएको सरकार जसले सुधार र जनतालाई सेवा दिनुको सट्टा भ्रष्टाचारको वृद्धि गर्ने र अहंकारी प्रवृत्तिबाट ग्रसित भई जनताका आवाजहरूलाई कुल्चिने, ललकार्ने, उत्तेजित बनाउने लगायतका अभिव्यक्ति र व्यवहारहरू मुख्य रूपले जिम्मेवार छन्।'
यस्तो अराजक परिस्थिति तिनै नेताहरूको परिवारवाद र कुर्सीमोहले जन्माएको भ्रष्टाचारको परिणाम भएको उनको भनाइ छ।
'आन्दोलनमा जेनजीहरूले पवित्र उद्देश्यले उठाएका मुद्दाहरूमाथि गरेको दमनबाट उत्पन्न आक्रोशले सिर्जना गरेको वातावरणमा गलत मनसायले घुसपैठबाट मानवीय र भौतिक मात्र नभई मुलुक सञ्चालनको केन्द्रविन्दुमा रहेको तथ्यांक, श्रेष्ता र सबै रेकर्डहरू समाप्त पारेर राष्ट्रलाई गम्भीर र अपूरणीय क्षति भएको छ,' उनले भनेका छन्।
अहिले राजनीतिक पार्टीहरू नेतृत्वविहीन जस्तो भएको उल्लेख गर्दै उनले शीर्ष नेताहरूले संकट समाधानको पहल गर्ने नैतिक सामर्थ्य गुमाएको पनि बताएका छन्।
भनेका छन्, 'परिणाम स्वरूप वर्तमान संकटको समाधानका लागि पहल गर्ने सामर्थ्य र नैतिक आधार राजनीतिक दलका शीर्ष नेताहरूले गुमाएका छन्।'
शर्माको सचिवालयले उनी काठमाडौंमै रहेको र सुरक्षित रहेको जनाएको छ।
मंगलबार आन्दोलन क्रममा प्रदर्शनकारीहरूले विभिन्न सरकारी र निजी सम्पत्तिसँगै नेताहरूको निवासमा आगजनी र तोडफोड गरेका थिए।