राष्ट्र, राष्ट्रियता, धर्म, बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे दिनभरि कुराकानी भएको बताएका छन्।
उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले प्रधानसेनापति सिग्देलसँग दिनभरि छलफल गरेको जानकारी गराएका हुन्।
'आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ — मलाई नेतृत्वको मोह छैन,' उनले लेखेका छन्।
त्यस्तै उनले आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको पनि बताएका छन्।
'देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु। तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु,' उनले लेखेका छन्।
उनी अगाडि लेख्छन्, 'आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ। अब चाहिएको कुरा हो — गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज। सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ। यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।अब समय आएको छ — भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।'