जेन–जीले सत्ता पलट गरेपछि सामाजिक सञ्जाल डिस्कोर्डमा भावी सरकारबारे छलफल गरिरहेका छन्। उनीहरूले मुलुकको राजनीतिको आगामी दिशा कोर्न भर्चुअल संवाद चलाइरहेका हुन्।
तर काठमाडौं शान्त हुन सकेको छैन। प्रदर्शनकारीहरूले लगाएको आगाको धुवाँमुनि काठमाडौंको जनजीवन अझै अन्यौलपूर्ण छ। बख्तरबन्द गाडीसहित सेना ओहोरदोहोर गरिरहेकाले जनजीवनमा डर पसेको पनि छ।
हामी तपाईंहरूलाई काठमाडौंमा मुख्य मुख्य चोकहरूको बुधबार साँझ ६ बजेको अवस्था बताउनेछौं।
बौद्ध
काठमाडौं उत्तरपूर्वी क्षेत्र बौद्धको जनजीवन शान्त बन्न सकेको छैन। ठूलो संख्यामा स्थानीयहरू घरबाहिर निस्किएका छन्।
मंगलबार प्रदर्शनकारीहरूले बौद्धको डिएसपी कार्यालय जलाइदिएका थिए। बौद्ध काठमाडौं उपत्यकाको धेरै अपराध हुने ठाउँमध्ये पर्छ। प्रहरी कार्यालय नै नभएपछि गाउँ–टोल, बस्तीमा घटेका घटनाको उजुर गर्न कहाँ जाने? स्थिति कहिले शान्त होला भन्ने अन्यौल उनीहरूमा देखिन्छ। बौद्धका व्यवसायीले प्रमुख सडक क्षेत्र सरसफाइ गरेका छन्।
मंगलबार प्रदर्शनकारीहरूले जलाएका सवारी साधन, टायर लगायतका अवशेष उनीहरूले पन्छाएका छन्। काठमाडौं महानगर क्षेत्रभित्र पर्ने भएकाले नगर प्रहरीले पनि समन्वय गरेको थियो। उनीहरूले खण्डहर भएको प्रहरी चौकी अगाडिको सडकसमेत सफा गरेका छन्।
चुच्चेपाटी–चाबहिल
चुच्चेपाटी क्षेत्र अशान्त नै छ। चुच्चेपाटीबाट केही अगाडि बौद्धतर्फ जाने बाटामा रहेको भाटभटेनी सुपरस्टोरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। नियन्त्रणमा ल्याउने प्रयास पनि भएको छैन।
दैनिक उपभोग्यदेखि घरायसी सामान बिक्री गर्ने ठूलो स्थलमा लगाइएको आगो नियन्त्रणमा सहजै आउने छाँट पनि देखिँदैन। यसले स्थानीयमा त्रास बढाएको छ।
अहिले चुच्चेपाटी क्षेत्रमा नेपाली सेना तैनाथ छ। बाटामा मोटो जिआइ पाइप तेर्स्याएर सुरक्षा जाँच पनि गरिरहेको छ। तथापि भिड घटेको छैन। रमिता हेर्न, फोटो र सेल्फी खिच्न आउनेको भिडले सुरक्षा संवेदनशीलता बढाएको छ।
चाबहिलमा भने नेपाली सेनाले आवागमन रोकेको छ। दिनभर त्यहाँ आवागमनमा कडाइ गरिएको थियो। साँझपख भने केही खुला गरिएको त्यहाँ खटिएका सेनाले जनाएका छन्। चाबहिल क्षेत्रको सडक सफाइ गरिएको छ। त्यहाँ बिहानै नगर प्रहरीसहित सफाइकर्मीले बाटो सफा गरेका थिए। जलाइएका ट्राफिक पोष्ट र सवारी साधनको अवशेष उठाएर लगेका थिए।
गौशाला–पुरानो बानेश्वर–नयाँ बानेश्वर
गौशाला क्षेत्र भने सामसुम छ। गौशाला चोकमा रहेको डिएसपी कार्यालय प्रदर्शनकारीहरूले मंगलबार नै जलाइदिएका थिए। चौबाटो भएकाले यहाँ पनि नेपाली सेना खटिएको छ। गौशालाको पश्चिमतर्फ रहेको पशुपति धर्मशाला पनि प्रदर्शनकारीहरूको निशानामा परेकाले केही त्यहाँबाट सामान झिकेर अन्यत्र लगिराखको दृश्य पनि देखिन्थ्यो।
पुरानो बानेश्वर क्षेत्रको अवस्था सामान्य छ। बत्तिसपुतलीमा रहेको हिमालयन बैंकको शाखा कार्यालय जलाइएकाले त्यहाँ अझै धुवाइरहेको देखिन्थ्यो। नयाँ बानेश्वर क्षेत्र पनि शान्त छ। संसद भवनको आगो नियन्त्रणमा आएको छ। नयाँ बानेश्वर चोकमा रमिता हेर्नेहरूको पनि उपस्थिति छ। उनीहरू मूल चोकमा रहेको आकाशे पुलमा उभिएर पूर्वतर्फ हेर्ने र तस्बिर खिच्ने गरिरहेका थिए।
संसद भवनको मूल गेटमा सञ्चारकर्मीको भिड देख्न सकिन्छ। त्यहाँ नेपाली तथा विदेशी सञ्चारकर्मीको पनि उपस्थिति छ।
संसद भवनको भित्री तथा बाहिरी सुरक्षा पनि नेपाली सेनाले लिएको छ। सेनाले सञ्चारकर्मीलाई समेत संसद भवनभित्र प्रवेश गर्न दिएको छैन। त्यहाँ अहिले मुचुल्का उठाउने, क्षतिको विवरण यकिन गर्ने काम भइरहेको सेनाले जनाएको छ।
बबरमहल–सिंहदरबार–पुतलीसडक
बबहरमहल क्षेत्रका सरकारी कार्यालयमा प्रदर्शनकारीहरूले मंगलबार लगाएको आगो अझै नियन्त्रणमा आएको छैन।
बबरमहलमा रहेको नागरिक उड्डयन प्राधिकरणमा लागेको आगो निभाउन अपराह्न एउटा दमकल ल्याइएको थियो। त्यो प्राधिकरणको धुवाँ निभाउन प्रयोग भइरहेको थियो। सडक विभाग भने खरानीको थुप्रोमा परिणत भइसकेकाले त्यहाँको आगो निभाउने चेष्टा प्रशासनले गरेको थिएन।
सिंहदरबारको दक्षिण, पश्चिम, पूर्वी गेटमा नेपाली सेना तैनाथ छन्। कर्मचारीहरू फाट्टफुट्ट सिंहदरबारभित्र प्रवेश गरिरहेका देखिन्थे भने सञ्चारकर्मीलाई प्रवेशमा पूर्णतः रोक लगाइएको छ।
अहिले मन्त्रालयहरूको अवस्थाको जाँचपड्ताल भइरहेको सेनाले जनाएको छ।
उता रामशाहपथका सरकारी कार्यालयहरू धुवाँउन छाडेका छन्। मूल सडकमा सेनाले ब्यारिकेड राखेर आवागमनमा कडाइ गरेकाले सर्वसाधारणको उपस्थिति त्यति छैन।
बानेश्वर, माइतीघर, पुतलीसडकको मूल सडक सफाइ गरिसकिएको छ। त्यहाँ मंगलबारका प्रदर्शन, आगजनी, तोडफोडका अवशेष भेटिँदैन।
नक्साल–बालुवाटार–महाराजगन्ज
नक्साल क्षेत्र अशान्त नै छ। नक्सालमा रहेको हिल्टन होटलमा २६ घन्टादेखि आगो दन्किइरहेको छ।
नक्सालमै रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा अझै आगो दन्किइरहेको छ। नक्सालमै रहेको भाटभटेनी सुपरस्टोरको आगो अझै निभेको छैन।
बालुवाटारको प्रधानमन्त्री निवास, प्रधानन्यायाधीशको निवासको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। शितल निवासस्थित राष्ट्रपति कार्यालयको आगो भने नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
मूल सडकमा पनि सेना तैनाथ छ। सेनाले शितल निवास, महाराजगन्ज आसपास निकै कडाइ गरेको छ। बालुवाटारमा रहेको प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवासको बाटो हिँड्न रोक लगाएको छ। प्रहरी प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयतर्फ पनि सेना–प्रहरीले आवतजावत गर्न दिएका छैनन्।