पोखरामा प्रदर्शन गरिरहेका जेनजी पुस्ताले पोखरा महानगरका मेयर धनराज आचार्यको घर र उनका भाइले चलाएको पोखरा इभेन्ट सेन्टरमा मंगलबार तोडफोड र आगजनी प्रयास गरेका छन्।
महानगरपालिकाको कार्यालय जलाएपछि आन्दोलनकारी युवाहरूले मेयरको घर र व्यावसायिक प्रतिष्ठानमा तोडफोड र आगजनी गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयले पोखराका मुख्य मुख्य ठाउँहरूमा मंगलबार बिहानैदेखि कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी युवाहरूले प्रदर्शन जारी राखेका छन्।
पोखराको सभागृह चोकबाट सुरू भएको जुलुस न्युरोडको महानगरपालिकाको कार्यालय जलाएर नयाँ बजारतर्फ सोझिएका छन्।
कर्फ्यूका कारण व्यवसाय र सडक भने ठप्प छ।