राप्रपा नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएको छ। जेन–जीको प्रदर्शनका क्रममा सरकारले निर्मम दमन गरेको भन्दै राप्रपा नेपालले पदमा बसिरहने वैधता गुमाएको निष्कर्ष निकालेको हो।
‘भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जी का युवा पुस्ताले आह्वान गरेको स्वःस्फुर्त देशव्यापी आन्दोलनमा भएको प्रशासनको चरम दमनको राप्रपा नेपाल घोर निन्दा र भत्र्सना गर्दछ। सरकारी दमनको परिणामस्वरूप अहिलेसम्म प्राप्त जानकारी अनुसार १६ जना निर्दोष र निहत्था युवाहरूको ज्यान गएको छ, सयौं घाइते भएका छन्। निर्दोष युवाहरू माथि बर्बरतापूर्वक निर्मम आक्रमणको निम्ति पूर्णतया वर्तमान सरकार जिम्मेवार छ। स्कुल कलेज पढ्दै गरेका युवा र किशोरहरूमाथि निर्ममतापूर्वक दमन गर्ने वर्तमान मन्त्रिपरिषद्लाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गर्नुपर्दछ,’ राप्रपा नेपालले भनेको छ।
भ्रष्टाचार र कुशासनको अन्त्य एवं सामाजिक सञ्जाल नियमित सञ्चालन गरियोस् भन्ने युवाहरूको माग जायज रहेको राप्रपा नेपालले बताएको छ।
‘यस मागको पक्षमा आम नेपाली जनताको साथ र समर्थन रहेको छ। आन्दोलनमा सहादत प्राप्त गरेका कलिला युवाहरूको रगत त्यसै खेर जाने छैन। आमूल परिवर्तनको सूत्रधार बन्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं। दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ राप्रपा नेपालले भनेको छ।