अमेरिकाको जर्जिया राज्यको एलाबेलमा रहेको एउटै कारखानाबाट ४७५ जना अवैध आप्रवासी पक्राउ परेका छन्।
ब्रायन काउन्टीमा निर्माणाधीन रहेको हुन्डाइको ब्याट्री कारखानाबाट ४७५ जना आप्रवासीलाई पक्राउ गरी उनीहरूलाई डिपोर्टको बाँकी प्रक्रिया अगाडि बढाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना बिहीबारको हो।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिई) र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एचएसआई) का ५०० जना अधिकारीहरू एकाएक कारखानाभित्र छिरेका थिए।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरू कारखानाभित्र छिरेपछि त्यहाँको दृश्य युद्धमैदानभन्दा कम थिएन।
सुरक्षाकर्मीले छापा मारेको खबर फैलिएपछि त्यहाँ आप्रवासीहरूको भागाभाग चलेको थियो।
कोही नजिकै रहेको पोखरीमा हामफालेका थिए। कोही भेन्टिलेसन पाइपभित्र लुकेका थिए। छापा मारेको खबरपछि वैध आप्रवासीहरू पनि भागेका थिए।
तर ठूलो संख्यामा उपस्थित सुरक्षाकर्मीहरूले उनीहरूलाई चारैतिरबाट घेरेर समातेका थिए। पोखरीमा हामफालेकाहरूलाई डुंगाको प्रयोग गरी त्यहाँबाट निकालेका थिए।
केही बेरमै सुरक्षाकर्मीहरूले ५०० भन्दा बढी आप्रवासीहरूलाई समाते र कारखानाको पर्खालका भित्तामा लाइन लगाए।
प्रत्येक आप्रवासीसँग एक/एक जना सुरक्षाकर्मीहरूले सोधपुछ गरे। वैध खुल्ने कागजपत्रको बारेमा सोधपुछ गरे। वैधहरू छाडिए। अवैध आप्रवासीलाई गाडीमा हालेर फल्कस्टनस्थित आइसिईको कार्यालयमा लगियो।
गाडीमा चढाउनुअघि उनीहरूलाई हात, खुट्टा र जिउमा पनि नेल बाँधिएको थियो।
आइसिईका अधिकारीहरू कारखाना छिरेपछि मच्चिएको अफरातफरीबारे एकजना कामदारसँग सिएनएनले कुरा गरेको छ।
उनले बिहीबारको त्यो दृश्यलाई युद्धक्षेत्रजस्तै भनेका छन्।
उनका अनुसार सुरक्षाकर्मीहरूले मास्क लगाएका थिए भने उनीहरूको हातमा हतियार पनि थियो।
'एकजना कामदार ‘अध्यागमन आयो’ भनेर चिच्याउँदै भित्र छिरे। त्यसपछि त्यहाँ भागाभाग हुन थाल्यो। हामी भेन्टिलेसन पाइपभित्र छिर्यौं। त्यहाँ साँच्चै अत्यन्तै गर्मी थियो,' उनले सिएनएनसँग भनेका छन्।
अर्का कामदारका अनुसार सुरक्षा अधिकारीहरूले आप्रवासीलाई पर्खालछेउ एक घन्टाभन्दा बढी समय उभ्याएका थिए।
'त्यसपछि प्रत्येक कामदारसँग एक/एक जना अधिकारीहरूले सोधपुछ गरे। हाम्रो सामाजिक सुरक्षा कार्ड नम्बर, जन्म मितिबारे सोधे। त्यसपछि थप प्रक्रियाका लागि अर्को भवनमा लगे र त्यहाँ थप प्रक्रिया भयो,' उनले भने।
ती कामदारका अनुसार सोधपुछपछि वैध आप्रवासीलाई ‘क्लिअर टु डिपार्ट’ लेखिएको एउटा चिर्कटो थमाइएको थियो।
'त्यो चिर्कटो गेटमा बसिरहेका अध्यागमनका कर्मचारीलाई देखाएर मात्रै कारखानाबाट निस्कन पाइन्थ्यो,' उनले सिएनएनसँग भनेका छन्।
सम्पूर्ण प्रक्रिया सकिँदा रातिको ८ बजेको पनि विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसलाई ट्रम्प प्रशासनको दोस्रो कार्यकालकै ठूलो रेड भनिएको छ। एउटै कारखानामा छापा मारेर ४७५ जना पक्राउ गर्नुलाई अवैध आप्रवासीविरुद्धको अभियानकै ठूलो घटना भनिएको छ।
पक्राउ परेका धेरैजसो आप्रवासी कोरियाली छन्।
सिएनएनका अनुसार झन्डै ३०० जना दक्षिण कोरियाका छन्। २३ जना मेक्सिकोका र अरू अन्य देशका छन्।
अमेरिकामा ठूलो संख्यामा आफ्ना देशका नागरिक पक्राउ परेपछि दक्षिण कोरियाका राष्ट्रपति ली जाए–म्युङले उनीहरूको सहयोगका लागि आवश्यक सबै काम सरकारले गर्ने बताएका छन्।
उनले सउलमा आपतकालीन बैठक पनि बोलाएका थिए भनेर सिएनएनले लेखेको छ।
उनीहरूको सहयोग र सहजताका लागि अमेरिकामै आवश्यक सबै काम गर्न राष्ट्रपतिले निर्देशन दिएको विदेशमन्त्री चो ह्युनले बताएका छन्।
'आवश्यक पर्छ भने म आफैं वाशिङटन डीसी जान तयार छु। त्यहाँ म अमेरिकी अधिकारीसँग सिधा र प्रत्यक्ष कुरा गर्छु,' ह्युनले भनेका छन्।
विशेषगरी अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकलाई गरेको व्यवहारप्रति दक्षिण कोरियाले ध्यानाकर्षण भएको बताएको छ।
हातमा हत्कडी, खुट्टा र जिउमा नेल बाँधेर अमानवीय व्यवहार गरिएको भनिएको छ।
यो घटनाले ट्रम्प प्रशासन र प्रमुख एसियाली सहयोगी तथा लगानीकर्ता सियोलबीचको तनाव बढाउन सक्छ भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकामा दक्षिण कोरियाले ३५० अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो।
लगानीको ३५० अर्ब डलर समावेश गर्ने व्यापार सम्झौताको विवरणमा उनीहरूबीच मतभेद रहेको छ।