नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको मौसमका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो।
शनिबार दिउँसो ३ बजे रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित सहिद पार्कमा सहिद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियान पुनः आरम्भ गरिएको हो ।
शिक्षक समेत रहेका सहिद खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए ।
उनका सन्तानमध्ये छोरी सर्मिला खनाल र छोरा सुदीप खनाल माओवादी केन्द्रमा सक्रिय छन्। माल्यार्पण कार्यक्रममा सहिद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष प्रचण्डसँगै भएकी थिइन्।
'माओवादी जनयुद्ध'का क्रममा रूपा गाउँपालिकाबाट सात जना सहिद र एक जना बेपत्ता भएका थिए ।
साउन १६ र १७ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान सुरु गर्ने निर्णय भएको थियो ।
अध्यक्ष प्रचण्डले 'जनयुद्ध'लाई महान् क्रान्ति भन्दै सहिदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न खोजे पनि तेस्रो पटक प्रधानमन्त्री हुँदा मात्र त्यो कार्य सम्पन्न गर्न सफल भएको स्मरण गरे।
सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको उल्लेख गरे।
अध्यक्ष प्रचण्ड शनिबार साँझ नै लमजुङको मध्यनेपाल नगरपालिका करापुटार लम्जुङ पुगिसकेका छन्।