अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले खेलेको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति गुनासो गरेका छन्।
ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानलाई हराउन अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि चीनमा आयोजित समारोहमा त्यसबारे उल्लेख नै नभएकोमा गुनासो गरेका हुन्।
'मलाई त्यो समारोह सुन्दर र प्रभावशाली पनि लाग्यो। तर चीनलाई मद्दत गर्न अमेरिकाले ठूलो योगदान दिएको थियो। कम्तिमा राष्ट्रपतिको भाषणमा त्यसको उल्लेख हुनुपर्थ्यो,' ट्रम्पले भने।
चिनियाँ दूतावासले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको उपलक्ष्यमा चीनले सोमबार भव्य सैन्य परेड आयोजना गरेको थियो।
उक्त समारोहलाई राष्ट्रपति सी चीनफिङले भने चीनको शक्ति र वाशिङ्टनसँग असहमति राख्ने मुलुकहरूसँगको निकट सम्बन्ध देखाउने अवसरका रूपमा प्रयोग गरे।
उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली शासक किम जोङ उन, इरानका राष्ट्रपति मसुद पेजिस्कियन लगायतसँग निकटतम सम्बन्ध रहेको देखाए।
अत्याधुनिक र शक्तिशाली हतियार प्रदर्शन गरेर विश्वलाई चीनको शक्ति कति छ भन्ने देखाउन उपयोग गरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै उभिएर सीले बेइजिङस्थित तिआनमेन स्क्वायरमा ५० हजारभन्दा बढी दर्शकबीच भाषण गरे।
उनले अमेरिकी प्रतिस्पर्धीलाई लक्षित उच्च प्राविधिक हतियारसहित सैनिक परेडको निरीक्षण पनि गरे।
सन् १९३७ मा जापानले चीनमाथि आक्रमण गरेपछि द्वितीय विश्वयुद्ध सुरु भएको थियो।
सन् १९४१ मा अमेरिका युद्धमा प्रवेश गरी चीनलाई मद्दत गरेको र १९४५ मा जापानलाई पराजित गराउन निर्णायक भूमिका खेलेको थियो।
अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि जापाने आत्मसमर्पण गरेको थियो।
राष्ट्रपति सीले आफ्नो भाषणमा चिनियाँ जनतालाई समर्थन र सहयोग गर्ने विदेशी सरकार र अन्तर्राष्ट्रिय मित्रहरूप्रति आभार व्यक्त गरेको तर अमेरिकाको भूमिकाबारे विस्तृत उल्लेख गरेका थिएनन्।
ट्रम्पले बेइजिङको परेडमा पुटिन र उत्तर कोरियाका नेता किम जोङले अमेरिकाविरूद्ध षड्यन्त्र गरेको पनि आरोप लगाएका थिए।