राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) गरी रूपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार छान्ने निर्णय गरेपछि रूपन्देहीकै कतिपय नेता कार्यकर्ताहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन्।
रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि जिल्ला तथा क्षेत्रीय कार्यसमितिबाट ६ जनाको नामसमेत सिफारिस भइसकेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवार सिफारिस भएका ४ जना आकांक्षीसँग सामूहिक छलफल गरी 'जसले टिकट पाए पनि एकअर्कालाई सहयोग गरेर जाने' सहमति पत्रमा हस्ताक्षरसमेत गराएका थिए।
तर मंगलबार (भदौ १७) गते संसदीय समिति बैठक राखेर अध्यक्ष लिङ्देनले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय गर्दै उक्त निर्णय सार्वजनिक गरेपछि यसको पार्टी भित्रैबाट विरोध भएको छ, केहीले स्वागत पनि गरेका छन्।
अध्यक्ष लिङ्देन पक्ष प्राइमरी इलेक्सनको पक्षमा उभिँदा संस्थापनइतर पक्ष (विक्रम पाण्डे-धवल शम्शेर) पक्ष भने विरोधमा रहेको राप्रपाका एक नेताले जानकारी दिए।
पार्टी अध्यक्षसमेत रहेका लिङ्देनको अध्यक्षमा संसदीय समिति बैठक गरेर प्राइमरी इलेक्सन गर्ने र इलेक्सनका लागि को-को मतदाता रहनेसमेत तय गरिएको विषयले राप्रपाभित्र तरंग ल्याएको छ।
संस्थापनइतर समूह (विक्रम-धवल शम्शेर) पक्षले अध्यक्ष लिङ्देनको अध्यक्षतामा संसदीय समिति बैठक बस्नै नमिल्ने दाबी गरेको छ।
विधानको धारा ४२ मा संसदीय समितिबारे उल्लेख छ, जसमा संसदीय समिति अध्यक्ष केन्द्रीय कार्यसमितिले तोकेको केन्द्रीय सदस्यको अध्यक्षतामा रहने उल्लेख छ।
अध्यक्ष लिङ्देनले विधानविपरीत संसदीय समिति बैठकको अध्यक्षता गरेर प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको भन्दै विरोध भएको हो।
विधानले भनेअनुसार संसदीय समितिमा रहने सबैलाई जानकारीसमेत नदिई अध्यक्ष लिङ्देनले प्राइमरी इलेक्सनमा जाने निर्णय गरेको आरोप संस्थापनइतर पक्षका एक नेताले बताए।
संसदीय समितिमा पदेन सदस्य लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष प्रदीपकुमार उदयले संसदीय समितिबारे विधानको व्यवस्था सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उनले लिङ्देनको अध्यक्षतामा संसदीय समिति बैठक विधानअनुसार बस्न नसक्ने र कुनै निर्णय लिन नसक्नेतर्फ संकेत गरेका छन्।
संसदीय समितिको काम विधानको धारा ४२ को उपधारा २ को (ख) अनुसार टिकट दिने हो। संसदीय समितिलाई पन्छाउने गरी प्राइमरी इलेक्सनबाट उम्मेदवार तय गर्न लागेपछि राप्राभित्रैबाट यसलाई बहिस्कार गर्ने चेतावनीसहित विज्ञप्तिहरू जारी हुन थालेको छ।
‘आमनिर्वाचनमा सम्बन्धित क्षेत्रीय कार्यसमितिको सिफारिसमा जिल्ला र प्रदेश कार्यसमितिको राय लिई पार्टी उम्मेदवारहरूको चयन गर्ने र केन्द्रीय कार्यसमितिमा अनुमोदनका लागि पेस गर्ने’ व्यवस्था विधानअनुसार संसदीय समितिको हो। संसदीय समितिको विकल्पमा अध्यक्ष लिङ्देनले प्राइमरी इलेक्सन लागू गर्न खोजेका छन्।
तर राप्रपा ओमसतिया २ रूपन्देहीका अध्यक्षसमेत रहेका जिल्ला सदस्य ज्ञानेश श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने तयारीको विरोध गरेका छन्।
उनले राप्रपाको विधि र विधानमा प्राइमरी इलेक्सन गर्ने व्यवस्था नै नरहेको बताएका हुन्।
‘रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रणालीबाट उम्मेदवार छनोट प्रक्रिया अपनाउने भनि जानकारी आएकोमा राप्रपाको कुनै विधि र विधानमा प्रारम्भिक निर्वाचन प्रणालीको जिकिर नगरिएको, पार्टीको जित सुनिश्चित रहेको समयमा कार्यकर्तामा फुटको सम्भावना अधिक रहेकोले यस ओमसतिया गाउँपालिका २ ले प्रारम्भिक निर्वाचन प्रणालीलाई बहिस्कार गरेको जानकारी गराइन्छ,’ उनले भनेका छन्।
राप्रपाले प्रारम्भिक निर्वाचनका लागि बनाएको मापदण्डमा ज्ञानेश श्रेष्ठजस्तै वडा अध्यक्ष पनि मतदाता हुन्छन्।
साथै उपनिर्वाचन हुने क्षेत्रमै पर्ने रूपन्देही ३ प्रदेश सभा क्षेत्र (ख) का राप्रपा अध्यक्ष प्रेमबहादुर कुँवरले मंगलबार विज्ञप्ति निकालेर पार्टीले गर्ने भनेको प्राइमरी इलेक्सन बहिस्कार गर्ने चेतावनी दिएका छन्।
रूपन्देही क्षेत्र नम्बर ३ का लागि उपयुक्त आधारसहित आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरिसकेको उल्लेख गर्दै उनले राप्रपा केन्द्रले संसदीय समितिबाट उम्मेदवार तय गर्नुपर्नेमा प्राइमरी इलेक्सनको निर्णय गरेकोमा उनको आपत्ति छ।
‘विभिन्न पार्टी तह र तप्काका कार्यसमितिबाट मतदान गराएर बहुमत प्राप्त उम्मेदवारको नाम केन्द्रमा पठाउनका लागि गरिएको निर्णय रूपन्देही क्षेत्र नम्बर ३ (ख) राप्रपा कार्यसमितिलाई अमान्य मात्र होइन, यस प्रकार पंगु बनाउन रचिएको रणनीतिको हामी घोर भर्त्सना साथै बहिस्कार गरिएको बेहोरा जानकारी गराउँछौं,’ रूपन्देही जिल्ला अध्यक्षलाई लिखित जानकारी गराउँदै उनले भनेका छन्।
राप्रपा रूपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यसमितिका सचिव शंकर कार्कीले विज्ञप्ति निकालेर प्राइमरी इलेक्सनको नाममा क्षेत्रीय समितिमा विभाजन ल्याउन खोजिएको भन्दै विरोध गरेका छन्।
‘रूपन्देही क्षेत्र नम्बर ३ कार्यसमिति, प्रदेश (क) र (ख) कार्यसमिति र विभिन्न वडा कार्यसमितिले विभिन्न मितिमा उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाएको थियो। त्यसैलाई आधार मानेर केन्द्रीय समितिले निर्णय लिनु पर्नेमा यो प्राइमरी चुनावको नाममा रूपन्देही ३ लाई विभाजन हुने अवस्था देखिएकोले यो प्राइमरी चुनावको क्षेत्रीय कार्यसमिति घोर भर्त्सना गर्दछ,’ भन्दै बुधबार विज्ञप्ति निकालेका छन्।
राप्रपा रूपन्देहीका सचिव शंकर क्षेत्रीले प्राइमरी इलेक्सन सम्भव नरहेको बताए।
‘रूपन्देहीको वस्तुस्थिति, भूगोल र अवस्थाले प्राइमरी इलेक्सन सम्भव छैन। अर्को कुरा रास्वपाको प्राइमरी इलेक्सनबारे पनि चलखेलको आरोप सुनियो, तसर्थ हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘यो दीपक बोहराको विरासत भएको क्षेत्र हो, तसर्थ पनि प्राइमरी इलेक्सनका नाममा विरासत भत्काउन दिँदैनौं, हामी प्राइमरी इलेक्सन स्वीकार गर्दैनौं, बहिस्कार गर्छौं।’
उनले राप्रपा केन्द्रको निर्देशनअनुसार साउन पहिलो साता उम्मेदवार आकांक्षीहरू ६ जनाको नाम पठाइएको पनि बताए। ‘कहिले हामीलाई आकांक्षीको नाम पठाऊ भन्ने कहिले प्राइमरी इलेक्सन भन्ने?’ उनले प्रश्न गरे।
पार्टी संस्थापन पक्षले भने संस्थापनइतर पक्ष (विक्रम-धवल शम्शेर) ले पार्टीका तल्ला तहका कार्यकर्ताहरूलाई प्रयोग गरेर प्राइमरी इलेक्सनको विरोधमा लाग्न भनेको आरोप लगाएको छ।
२०७९ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा चुनाव हुन लागेको हो। त्यसबेला चुनावमा राप्रपाका उम्मेदवार बोहरालाई एमालेले पनि समर्थन गरेको थियो।
राप्रपाबाट रूपन्देही ३ मा उम्मेदवार सिफारिस भएकामध्ये स्वाती थापा र बसन्तविक्रम शाही केन्द्रीय सदस्य हुन्।
थापा र शाहीसँगै दीपक बोहराका छोराहरू गौरब र प्रज्वलको नाम उम्मेदवारमा सिफारिस भएको छ। स्वाती, गौरब र प्रज्वल दीपक बोहराकै परिवारका सदस्य हुन्। गौरव र प्रज्वल छोरा हुन् भने स्वाती नातिनी हुन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले स्वाती, बसन्त विक्रम, गौरव र प्रज्वललाई राखेर भदौ ८ गते छलफल गरेका थिए।
तर राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय लिएको केही घन्टाभित्रै दीपक बोहराका एक छोरा प्रज्वलले भने रूपन्देही ३ मा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
‘मेरो बुवा स्व. दीपक बोहराज्यूको दु:खद निधनपछि उहाँले अपुरो छोड्नु भएको सपना र जनताप्रतिको समर्पणलाई निरन्तरता दिनका लागि रूपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा समग्र क्षेत्रवासीको आग्रह स्वीकार गर्दै मैले उम्मेदवारी दिने निर्णय गरेको छु,’ मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रज्वलले उम्मेदवारी घोषणा गर्दै भने, ‘क्षेत्रको विकास र समृद्धिको साझा लक्ष्य पूरा गर्न तपाईंहरूको अमूल्य साथ, माया र सहयोगको अपेक्षा गर्दछु।’
उनले कोही पनि बिचलित नभई सत्यको पक्षमा उभिन पनि अपिल गरेका थिए। उनले राप्रपा वा स्वतन्त्र केबाट उम्मेदवारी दिने भन्ने चाहिँ खुलाएका छैनन्।
स्व. दीपक बोहराका दुई श्रीमती (मन्जु र उन्नति शिला), दुई छोरा र एक छोरी रहेकोमा छोरीको मृत्यु भइसकेको छ।
दीपक बोहरा पोस्ट कोभिडका कारण बोल्न सक्दैनथे। उनले चुनावका बेला भाषण गरेनन्। उनका तर्फबाट नातिनी स्वाती लगायतले भाषण गरेका थिए।
गत चुनावमा हजुरबुवा दीपकलाई उनकी दाजुकी छोरीकी छोरी (नातिनी) स्वाती थापाले नै जिताउन भूमिका खेलेकी थिइन्। उनी चुनावी ‘कमाण्डर’ थिइन्।
त्यसबेला बाबुलाई सहयोग गर्न छोरा गौरब पनि चुनावी प्रचारमा हिँडेका थिए। उनी बुद्ध एयरका सिनियर क्याप्टेन हुन्।
गौरब उपनिर्वाचनमा उम्मेदवार हुन विभिन्न गतिविधिमा सक्रिय थिए भने राप्रपाबाट उम्मेदवार सिफारिस पनि भएका छन्।
दीपकका अर्का छोरा प्रज्वल आइटी इन्जिनियर हुन्। उनी रूपन्देही ३ मा उम्मेदवार हुन चाहन्छन्, सिफारिसमा पनि परेका छन्।
बाबु दीपक पोस्ट कोभिडले थला परेपछि प्रज्वल अमेरिकाबाट स्वदेश फर्केर राप्रपाले रूपन्देही ३ मा गर्ने कार्यक्रमहरूमा सहभागी हुन थालेका थिए।
रूपन्देही ३ मा दीपककै दुवै छोरा र एक नातिनी उम्मेदवार सिफारिस भइसकेको अवस्था छ। राप्रपाले सकेसम्म दीपककै परिवारका सदस्यहरूलाई उम्मेदवार बनाउन चाहेको थियो तर परिवारका सदस्यहरूबीच सहमति बन्ने अवस्था नदेखेपछि प्राइमरी इलेक्सनको विकल्प खोजिएको अध्यक्ष लिङ्देननिकट एक नेताले बताए।
‘दीपक बोहराकै परिवारका सदस्यहरूको त्यहाँ राम्रो माहोल छ भन्ने सुनिन्छ तर परिवारभित्रबाटै ३ जना आकांक्षी देखिनुभयो, को बलियो भन्ने पत्ता लगाउन आन्तरिक रूपमा प्राइमरी इलेक्सन गर्न लागिएको हो,’ लिङ्देननिकट ती नेताले भने, ‘अध्यक्षले कसैलाई उम्मेदवार तोक्यो भने एकलौटी निर्णय गरे भनेर प्रचार गर्थे, अहिले प्राइमरी इलेक्सन गर्न लाग्दा पनि विधानका अक्षर अक्षर केलाएर अवरोध गर्न खोज्दैछन्।’
पार्टीभित्र पछिल्लो समय अध्यक्ष लिङ्देन र उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शम्शेर पक्षबीच मतभेद छ।
अध्यक्ष लिङ्देनका कार्यशैलीमा विक्रम र धवलले निरन्तर प्रश्न उठाउँदै आएका छन्।
अध्यक्ष लिङ्देनले ७ महिनासम्म पनि केन्द्रीय समिति बैठक राखेका छैनन्, जबकि विक्रम र धवलले केन्द्रीय कार्यसम्पादन, केन्द्रीय समितिलगायत बैठक माग गरेर पत्र लेखिरहेका छन्।
अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्ष, सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट असार २५ गते पदमुक्त गरे भने उक्त कदमको विरोधमा विज्ञप्ति निकालेका उपाध्यक्ष मुकुन्दश्याम गरीलाई साउन २ उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट पदमुक्त गरेका थिए।
अध्यक्ष लिङ्देनका यी कदमलाई निर्वाचित उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवल शम्शेर र कुन्तिकुमारी शाही लगायतले विरोध गरेका छन् र निर्णय सच्याउन भनिरहेका छन्।
अध्यक्ष लिङ्देनले भने आफूले मनोनीत गरेका पदाधिकारीले आफूविरूद्ध गुटबन्दी र घेराबन्दी गरेकोले जिम्मेवारीबाट हटाएको बताउँदै आएका छन्।
यस्तो मतभेदमा रहेको राप्रपाभित्र उपनिर्वाचन आउन लागेका बेला झन् विवाद निम्तने गरी प्राइमरी इलेक्सन गर्न लागिएको रूपन्देही क्षेत्र नम्बर ३ का कतिपय नेताकार्यकर्ताहरूले बताएका छन्।
राप्रपा संस्थापन पक्षले भने उपनिर्वाचनका लागि उमेदवार सिफारिस भएमध्येबाट लोकप्रिय उम्मेदवार थाहा पाउन आन्तरिक रूपमा प्राइमरी इलेक्सन गर्न लागेको बताउने गरेको छ।
मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराएर धेरै मत प्राप्त गर्ने आकांक्षीलाई उपनिर्वाचनको उमेदवार छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए।
आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र र सोको प्रबन्ध रूपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने उनको भनाइ छ। राप्रपामा निर्वाचन परिचालन समिति संयोजक ध्रुवबहादुर प्रधान छन्, सम्भवत उनले प्राइमरी इलेक्सनको मिति तय गर्नेछन्।
यसअघि रास्वपाले पनि प्राइमरी इलेक्सनमार्फत डा. लेखजंग थापालाई उम्मेदवार चयन गरेको थियो। कतिपय कार्यकर्ताले सिस्टमले भोट रिड नगरेको भन्दै रास्वपामा उजुरीसमेत दिएका थिए।
यद्यपि रास्वपाले भने राप्रपालाई प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्न लागेकोमा धन्यवाद दिएको छ।
राप्रपाले रूपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रूपन्देही ३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रूपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रूपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू, भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरूले प्राइमरी इलेक्सनमा मतदान गर्न पाउने मापदण्ड बनाएको छ।