दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पुगेको अवसरमा चीनले भव्य समारोह गरेको छ।
बेइजिङको तियानआनमेन स्क्वायरमा चिनियाँ राष्ट्रपति सी जिनपिङका अगाडि हजारौं सैनिकहरूले परेड गरेका छन्।
परेडमा शक्तिशाली र अत्याधुनिक हतियारहरू पनि प्रदर्शन गरिएको छ। परेड नेपाली समयअनुसार बिहान ६:४५ देखि सुरू भएको थियो।
यो चीनको सबैभन्दा ठूलो सैन्य परेड हो। चीनले विश्वयुद्ध अन्त्य भएको अवसरमा समारोह गरेको यो दोस्रो पटक हो।
सैन्य परेड अवलोकनका लागि विभिन्न देशका राष्ट्र र सरकारप्रमुख उपस्थित थिए।
परेडमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ, इरानका राष्ट्रपति मसउद पेजेश्कियन, मंगोलियाका राष्ट्रपति उखनागिन खुरेल्सुख, इन्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो लगायत एशियाका थुप्रै नेताहरू पनि उपस्थित थिए
त्यसैगरी काजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानका नेताहरू पनि सहभागी भएका छन्। युरोपतर्फबाट भने केवल दुई नेताहरू– स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति एलेक्जान्डर भुचिच उपस्थित थिए।
अफ्रिका र क्यारेबियन मुलुकहरूबाट पनि प्रतिनिधित्व भएको छ, जसमा क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु उपस्थित थिए।
तर चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन एउटै फ्रेममा देखिनु ऐतिहासिक रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
परेडमा अवलोकनका जाँदै गर्दा किम जोङ–उन, सी र पुटिन एकैसाथ काँधमा काँध मिलाएर हिँडेको देखिएको थियो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार यी तीन नेता एकसाथ देखिएको यो पहिलो पटक हो।
पछिल्लो समय चीन र उत्तर कोरियाबीच सम्बन्ध केही चिसिएको आकलन गरिन्छ। युक्रेन युद्धपछि उत्तर कोरियाले रूसलाई हतियार र सैन्य सहयोगसमेत गरेको छ। सन् २०२४ मा चीन र उत्तर कोरियाबीच उच्चस्तरीय भेटवार्ता नै नभएको भनेर सिएनएनले लेखेको छ।
सैन्य परेडमा सहभागी हुन भने सी आफैले किम जोङ–उनलाई निमन्त्रणा दिएका थिए। उनी बुलेटप्रुफ रेल चढेर चीन आइपुगेका थिए।
तीन नेताहरू काँधमा काँध मिलाएर हिँड्नुलाई विश्व भूराजनीतिमा बढिरहेको ध्रुवीकरणको पृष्ठभूमिमा एक सन्देश दिन खोजिएको विश्लेषण सिएनएनले गरेको छ।
यसले चीन र उत्तर कोरियाबीचको सम्बन्ध पनि सुधार भएको सन्देश दिन खोजिएको छ।
उनीहरूले चीन, रुस र उत्तर कोरिया पश्चिमी मुलुकहरूलाई चुनौती दिने वैकल्पिक विश्व व्यवस्थाको साझेदारको रूपमा आफूलाई प्रस्तुत गरिरहेको भनेर सिएनएनले लेखेको छ।
काँधमा काँध मिलाएर हिँडेको दृश्यलाई तीनै नेता अब एउटै यात्रामा अघि बढेका छन्, जहाँ उनीहरूको कूटनीतिक वा सैन्य सहकार्य नजिकैको भविष्यमा टुट्ने संकेत छैन भन्ने सन्देश दिन खोजिएको अमेरिकी मिडियाहरूले नै लेखेका छन्।