राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार छान्ने भएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार नवीन राप्रपा कार्ययोजनाको मोडलअनुसार आन्तरिक प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) मार्फत प्रजातान्त्रिक पद्धतिबाट उमेदवार छान्ने निर्णय भएको छ।
राप्रपाको संसदीय समितिको बैठक मंगलबार बसेको थियो।
पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले रूपन्देही ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडलअनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको उनले बताए।
कात्तिक १७ गते रूपन्देही ३ मा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनका लागि उमेदवार छनोट गर्न रूपन्देही जिल्ला कार्यसमितिबाट सिफारिस भइआएका आकांक्षी उमेदवारहरू मध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनफट गर्ने राप्रपाले जनाएको छ।
मतदाताहरूबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराएर उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपनिर्वाचनको उमेदवार छनोट गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र सोको आवश्यक प्रबन्ध रूपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको उनको भनाइ छ।
यसअघि रास्वपाले पनि प्राइमरी इलेक्सनमार्फत डा. लेखजंग थापालाई उम्मेदवार चयन गरेको थियो। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा राप्रपाबाट उम्मेदवार भई निर्वाचित दीपक बोहराको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि राप्रपाबाट स्वाती थापा, गौरब बोहरा, प्रज्वल बोहरा र बसन्तविक्रम शाही आकांक्षी छन्। उनीहरूको नाम सिफारिससमेत भइसकेको छ।
आकांक्षीमध्ये स्वाती थापा र बसन्तविक्रम शाही राप्रपा केन्द्रीय सदस्य छन् भने स्वाती, गौरब र प्रज्वल दीपक बोहराकै परिवारका सदस्य हुन्, स्वाती नातिनी हुन् भने गौरब र प्रज्वल छोरा हुन्।
को को हुन्छन् मतदाता?
क) रूपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
ख) रूपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
ग) रूपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउापालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
घ) रूपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
ङ) रूपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू।
च) २०८२ भदौ १७ गतेसम्म कायम रहेका रूपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू
ज) २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरू रहनेछन्।