नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विक्रम सिंह थापालाई पदमुक्त गरेको विरोधमा थापानिकट कार्यकर्ताहरूले कपिलवस्तुको तौलिहवामा विरोध प्रदर्शन गरेका छन्।
तौलिहवास्थित नयाँ टोलबाट ब्यानरसहित विरोध र्याली प्रदर्शन गरेका उनीहरूले मंगलबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।
कांग्रेस लुम्बिनीले पार्टी लुम्बिनी प्रदेश कार्यसमिति सदस्य रहेका थापालाई पदमुक्त गरेको थियो।
पार्टी पद्धतिमा नरहेको र नेतृत्वलाई असहयोग गरेको भन्दै थापालाई कारबाही गरिएको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले बताए।
पूर्वएसएसपी थापा ८ वर्षयता कांग्रेसमा सक्रिय राजनीति गर्दै आएका थिए।
थापा २०७९ सालमा प्रदेश सभामा कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट कांग्रेस तर्फबाट उम्मेदवार बनेर नेकपा (एमाले) का नवराज लम्सालसँग पराजित भएका थिए।
प्रदेश कार्यसमिति कार्यालयले थापालाई पदमुक्त गरिएको पत्र सार्वजनिक गरेको छ।
सार्वजनिक भएको पत्रमा थापालाई कांग्रेसको विधान २०७१ को परिच्छेद ४ को धारा १३ को उपधारा १० (झ) बमोजिम जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ।
थापालाई साउन ११ गते नै हटाएको पत्रमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको हस्ताक्षर रहेको छ।
त्यसैको विरोधमा कपिलवस्तुमा थापाका समर्थकहरूले विरोध प्रदर्शन गरेका हुन्।
आक्रोशित कांग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालयको सभा हलमा रहेका कुर्सीहरू तोडफोडसमेत गरे।
पार्टी संगठन विधानविपरीत चलेकोले विधानसम्मत चल्न दवाव दिन विरोध प्रदर्शन गरिएको कांग्रेस नेता परमेश्वर पाठकले बताए।
पाठकले कपिलवस्तु जिल्लाका विभिन्न बुथ इकाई समितिहरूमा रिक्त रहेका पदमा जिल्ला सभापतिले विधान विपरीत जथाभाबी आफ्ना नजिकका कार्यकर्तालाई मनोनयन गरेको आरोप लगाए।
पार्टी कार्यालय तालाबन्दी गर्नुअघि जिल्ला सचिव प्रेमबहादुर रायमाझीलाई आन्दोलित नेता परमेश्वर पाठकले तालाबन्दीसम्बन्धी विज्ञप्ति बुझाएका थिए।
पूर्वसांसद तथा कांग्रेस नेता अभिषेकप्रताप शाहले पनि लुम्बिनी प्रदेश समितिले नेता थापालाई पदमुक्त गर्ने निर्णय पूर्वाग्रही पूर्ण रहेको बताएका छन्।
नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट अवकाश प्राप्त थापा कपिलवस्तुको महाराजगन्ज नगरपालिका ८ निवासी हुन्।
पहिला शेखर समूहमा रहेको र अहिले देउवा समूहमा लागेका थापा जिल्ला सभापति अब्दुल कलाम तथा प्रदेश सभापति अमरसिंह पुनसँग असन्तुष्ट रहेका छन्।
कांग्रेस लुम्बिनी प्रदेश कमिटीले प्रदेश सदस्य विष्णु पोखरेललाई पनि कारबाही गरेको पत्र सार्वजनिक गरेको थियो।
पोखरेललाई पनि गत साउन ११ गते नै कारबाही गरिएको भए पनि भदौ १२ गते मात्रै उक्त पत्र सार्वजनिक भएको थियो।