सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो।
उनी हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्।
अहिले आइजिपी दीपक थापा छन्। उनी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमण जानुअघि नै बसेको बैठकले आइजिपी नियुक्त गरेको हो।
प्रधानमन्त्री ओली भदौ १८ गते फर्किनेछन्। त्यसकारण मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भ्रमण अघि नै आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।
नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्। प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ।
खापुङ २०२७ मंसिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका-६मा जन्मिएका थिए। उनले जेन्डर स्टडिजमा स्नातकोत्तर, र कानुनमा स्नातक गरेका छन्।
नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ कात्तिक २७ मा उनले सेवामा प्रवेश गरेका थिए।
खापुङले प्रहरी निरीक्षक हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतमा कमाण्ड सम्हालेका थिए।
उनी प्रहरी नायब उपरीक्षकमा २०६४ साउन १ गते प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त दरबारमार्ग लगायतमा कमाण्ड सम्हालेका थिए। उनी प्रधानमन्त्रीको प्रमुख सुरक्षा अधिकृत समेत भएर कार्यरत भएका थिए।
खापुङ २०७३ पुस १३ गते प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। प्रहरी उपरीक्षक हुँदा उनी बागलुङ प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा लगायतमा बसेका थिए। त्यस्तै २०७७ वैशाख १७ गते उनी प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए।
प्रहरी वरिष्ठ उपरीक्षक हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भए। त्यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको समेत प्रमुख भएका थिए।
त्यस्तै प्रहरी नायब महानिरीक्षकमा उनी २०८० वैशाख ६ गते पदोन्नति भएका थिए। त्यसपछि उनले कोशी प्रदेश प्रमुख र अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा समेत बसेर काम गरेका थिए।
प्रहरी नायब महानिरीक्षक रहँदा नै उनको सिआइबीमा २०८१ मंसिर २७ गते सरूवा भएको थियो।
त्यहाँ डिआइजीको रूपमा कार्यरत रहँदा उनी २०८२ वैशाख ४ गते एआइजीमा पदोन्नति भएका थिए। उनी हालसम्म पनि सिआइबी प्रमुख छन्।
खापुङले इटाली, भियतनाम, चीन लगायतमा तालिम लिएका छन्। स्वदेश र विदेशमा गरी विविध १४ वटा विषयमा तालिम लिएका छन्।
त्यस्तै उनी प्रबल जनसेवा श्रीसहित १७ पटक पुरस्कृत समेत भएका छन्।
उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनतर्फ दुई पटक हाइटीमा सेवा गरेका थिए। फर्म पुलिस युनिट र इन्डिभिड्युजल मिसनमा उनले सेवा गरेका थिए।