बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिने तयारी गरेका छन्।
काठमाडौं रहेका उनले एक/दुई दिनभित्रै हेटौंडा पुगेर पत्रकार सम्मेलन गरी राजीनामा दिने तयारी गरेको उनीनिकट सांसदहरूले बताए।
सभापति शेरबहादुर देउवासँग बिहीबार कुराकानी गरेपछि आफू राजीनामा दिने निर्णयमा पुगेको कुरा मुख्यमन्त्री लामाले आफूनिकट सांसदहरूलाई बिफ्रिङ गरेका छन्।
मुख्यमन्त्री लामाले आफूलाई सहयोग गरेका १४ सांसदसँगै सभापति देउवालाई भेट्न खोजेका थिए तर सभापति देउवाले मुख्यमन्त्रीसँग मात्रै कुराकानी गरेका हुन्।
भेटमा सभापति देउवाले संसदीय दल नेताको निर्वाचन भइसकेको र दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका हुन्।
सभापति देउवासँगको भेटपछि मुख्यमन्त्री लामाले आफूलाई साथ दिएकामध्ये अधिकांश सांसदहरूलाई मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएका छन्।
‘सभापतिज्यूसँग मुख्यमन्त्रीज्यूले कुराकानी गरिसक्नुभएको छ, भोलिसम्म मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्छ,’ मुख्यमन्त्री लामानिकट सांसद तिर्थबहादुर लामाले सेतोपाटीसँग भने, ‘संसदीय दल नेता परिवर्तनको विषयलाई सहज ढंगले लिएर मुख्यमन्त्रीज्यूले राजीनामा दिने कुरा भएको छ।’
लोकतान्त्रिक प्रक्रियाअनुसार संसदीय दल निर्वाचन भएको र नतिजासमेत आइसकेको अवस्थामा अब बागमती प्रदेशमा संसदीय दल नेता बानियाँ र लामा सरसल्लाहमै अघि बढ्ने उनले बताए। ‘भोलि बिहान १०/११ बजेसम्ममा मुख्यमन्त्रीज्यूले हेटौंडामा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुहोला,’ उनले भने।
बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन्। यीमध्ये संसदीय दल नेता निर्वाचनका बेला बानियाँका पक्षमा २२ जना, लामाका पक्षमा १४ जना र एक मत बदर भएको थियो।
मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ५ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्री लामाले आफ्नो पक्षमा उभिएका १४ जनामध्ये ३ जनालाई मन्त्री बनाए पनि शपथ लिन पाएका छैनन्। प्रदेश प्रमुख बिरामी भएर उपचार गर्न काठमाडौं आउँदा नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको हो।
बागमती प्रदेश संसदीय दलमा सांसदहरू फरक-फरक कित्तामा बाँडिएपछि सभापति देउवाले प्रतिनिधि सभा सांसद राजेन्द्र केसीलाई सहजीकरणको जिम्मेवारीसहित हेटौंडा पठाएका थिए। केसीले नै दुवै पक्षसँग कुरा गरी दुई दिनसम्म संसदीय दलको बैठक गरेका थिए।
संसदीय दल नेताको चुनावमा बानियाँ निर्वाचित भए पनि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने अडान राखेका थिए भने कानुनी प्रक्रियाबाट मुख्यमन्त्रीलाई बिदाइ गर्ने अभिव्यक्ति बानियाँको थियो।
यसैबीच बागमती प्रदेशमा देखा परेको समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो।
उक्त छलफलमा सभापति देउवाले बागमतीको विषय कांग्रेसको आन्तरिक भएकोले आफै 'सेटल' गर्ने बताएका थिए। लगत्तै सभापति देउवाले मुख्यमन्त्री लामासँग भेटवार्ता गरी राजीनामा दिन सुझाव दिएका थिए।
सहजीकरणको जिम्मेवारी पाएका प्रतिनिधि सभा सांसद राजेन्द्र केसीले बागमतीको विषय टुंगिने अवस्थामा पुगेको बताए।
‘यो विषय अब टुंगिन्छ, सभापतिज्यूले मुख्यमन्त्रीजीलाई मार्गप्रशस्न गर, लोकतान्त्रिक विधिबाट अघि बढ, संसदीय दल नेता पनि परिवर्तन भइसक्यो, पार्टीभित्रको आन्तरिक कुरा हो मिलाएर जानुपर्छ भनेर भन्नुभएको छ,’ केसीले भने।
सभापति देउवाले संसदीय दल नेताको हैसियत गुमाएको व्यक्तिले मुख्यमन्त्री चलाइराख्नु राम्रो पनि नदेखिने कुरा गरेका थिए।
मुख्यमन्त्री लामाले सभापति देउवासँगको भेटमा हेटौंडा पुगेर छिट्टै राजीनामा दिने बताएका थिए। संसदीय दल नेतामा अल्पमतमा पर्ने देखेपछि सभापति देउवाले यसअघि पनि मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गर्दा राम्रो हुने बताएका थिए।
संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्री लामालाई छिटो मार्गप्रशस्न गर्न आग्रह गरेका छन्।
‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,’ शुक्रबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै बानियाँले भने।
आफू र मुख्यमन्त्री लामाबीच कुनै मनमुटाव नरहेको संसदीय दल नेता बानियाँको भनाइ थियो।
मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठबन्धन सरकारको नेतृत्व गरेकोले मुख्यमन्त्री हुन संसदीय दल नेताको हैसियत नभए पनि हुने कानुनी व्यवस्था देखाउँदै राजीनामा नदिने अडान राखेका थिए।
तर आफूले नियुक्त गरेका ३ मन्त्रीको शपथ रोक्न सत्ता साझेदार नेकपा (एमाले) ले दबाब दिएको, मन्त्रीको शपथ गराउन खोज्दा प्रदेश प्रमुख नै काठमाडौं हिनेको र उस्तै परे एमालेले समर्थन फिर्ता लिन सक्ने देखेपछि राजीनामा दिने मनस्थितिमा पुगेको उनीनिकट एक नेताले जानकारी दिए।
नुवाकोटका बहादुर सिं लामा तामाङ र मकवानपुरका ईन्द्रबहादुर बानियाँ दुवै निर्माण व्यवसायी पृष्ठभूमिका हुन्। उनीहरू दुवै सभापति देउवानिकट मानिन्छन्।
यसअघि २०७९ मंसिरमा प्रदेश सभा निर्वाचन भएपछि पुस १३ गते बागमती संसदीय दल नेताका लागि चुनाव भएको थियो।
त्यसबेला सभापति देउवानिकट लामा र बानियाँ संसदीय दल नेताका आकांक्षी थिए।
सभापति देउवाले लामालाई सहयोग गर्ने संकेत गरेपछि बानियाँ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षको साथमा चुनावी प्रतिस्पर्धामा उत्रिए तर जित्न सकेनन्।
त्यसबेला लामाले २१ र बानियाँले १६ मत ल्याएका थिए।
साढे २ वर्षमा बानियाँले यो मत उल्टाएका छन् र आफ्नो पक्षमा पारेका छन्।
मुख्यमन्त्री लामालाई संसदीय दल नेतामा निरन्तरता दिनुपर्ने पक्षमा नेता शेखर कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सभापति देउवा पक्षका केही सांसदहरू थिए।
नेता कोइरालाले बागमतीमा देखिएको मतभेदमा मुख नखोले पनि सिटौलाले 'अविश्वास प्रस्तावले कांग्रेसलाई नै क्षति पुग्ने' अभिव्यक्ति दिएका थिए।
तर सभापति देउवा पक्षका केही सांसद, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह पक्षका केही सांसदहरू हाबी हुँदा लामाले संसदीय दल नेताको हैसियत गुमाउनुपरेको कांग्रेसवृत्तमा चर्चा छ।
बागमतीमा आर्थिक वर्ष २०८२/०८३ को बजेटपछि कांग्रेसभित्र र बाहिर असन्तुष्टि देखा पर्यो। यही असन्तुष्टिको बीचमा बानियाँले संसदीय दल नेता बन्ने मौका जुराउँदै मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन्।
बागमतीमा आर्थिक मामिला तथा योजना मन्त्री कांग्रेसकै सांसद कुन्दनराज काफ्ले छन्।
उनले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ५७ करोड ४१ लाखको बजेट ल्याएका थिए। तर आफ्नै जिल्ला दोलखा र मुख्यमन्त्रीको जिल्ला नुवाकोटमा धेरै बजेट लगेको, कार्यकर्ता रिझाउन टुक्रे योजनामा बजेट राखेको तथा गण्डकी प्रदेशअन्तर्गत पनि योजनामा बजेट दिएको भन्दै आलोचना भएको थियो।
बजेट विवाद भएकै कारणबाट कांग्रेसभित्र मतभेद सुरू भएको थियो भने यही मौकामा बानियाँले संसदीय दल नेता परिवर्तन गरी आफू मुख्यमन्त्री हुन जमर्को गरेका हुन्। बागमतीमा कांग्रेसले एमालेसँग मिलेर सरकार बनाएको छ। लामा मुख्यमन्त्री बनेको साउन ८ गते एक वर्ष पुगेको थियो।
लामा मुख्यमन्त्री हुने बेला एक वर्षका लागि मात्रै भन्ने मौखिक सहमति भए पनि त्यो सहमति तोडेको आरोप उनीमाथि छ। लामाले भने आफू मुख्यमन्त्री बन्दै गर्दा कार्यकालबारे कुनै सहमति नभएको बताउँदै आएका छन्। संसदीय दल नेताको हैसियत गुमाउँदा लामाले मुख्यमन्त्री पदसमेत गुमाउनुपर्ने अवस्था आउन लागेको हो। कांग्रेसमा प्राय: संसदीय दल नेता नै प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने परम्परा छ।
यो पनि:
देउवाले प्रधानमन्त्री ओलीलाई भने- बागमतीको विषय हामी 'सेटल' गर्छौं, एमालेको साथ भने चाहिन्छ
ईन्द्र बानियाँ संसदीय दल नेता जिते, बन्लान् बागमतीको मुख्यमन्त्री?