नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम दिन अनुरोध दिएका छन्।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसमा गौतमले आफू पदका लागि भन्दा पनि काम गर्न एकीकृत समाजवादीमा आएको र सोही अनुसार जिम्मेवारी दिन आग्रह गरेका हुन्।
'मलाई काम दिनुस्। एउटा क्षेत्रको नेतृत्व दिनुस्। एउटा जिल्ला, दुइटा जिल्ला वा आधा जिल्ला। कि एउटा पालिका। अथवा जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरु छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्छु,' उनले भने।
उनले काम नभए एकीकृत समाजवादीमा पनि धेरै समय रहिरहन नसक्ने भनेर शीर्ष नेताहरूलाई अगाडि नै भनेको बताए।
'मैले पहिले नै भनेको छु। मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरुसँग बस्न सक्दिन,' उनले भने।
गौतमले साउन २ गते आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी एकीकृत समाजवादीसँग एकता गरेका थिए।
एकीकृत समाजवादीमा उनको वरियता तेस्रो हुने सहमती गरी पार्टी एकता गरेका थिए। हालका लागि उनलाई वरिष्ठ नेता पद दिइएको छ।