रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आजित भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनलाई हतियारहरू दिने घोषणा गरेका छन्। उनले ५० दिनभित्र रूसले शान्ति सम्झौता नगरे रूसी तेल किन्ने देशहरूलाई उच्च भन्सार महसुल लगाउने चेतावनी पनि दिएका छन्।
पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरू भएदेखि नै रूसका सर्तअनुसार शान्ति सम्झौता गर्न युक्रेनमाथि दबाब दिइरहेका थिए।
उनले युक्रेनलाई अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले दिने निर्णय गरेका हतियारहरू रोकेका थिए। यति मात्र नभएर, अमेरिकाले युक्रेनलाई उपलब्ध गराउँदै आएको खुफिया सूचना समेत केही समयका लागि रोकेका थिए।
तर पुटिनले युद्ध रोक्ने इच्छा नदेखाएपछि ट्रम्पले पछिल्लो समयमा रूस र युक्रेनप्रतिको आफ्नो अडान परिवर्तन गरेको देखिन्छ।
सोमबार युक्रेनलाई हतियार दिने घोषणा गर्दा ट्रम्पले पत्नी मेलानियाले उनलाई रूसी आक्रमणबाट युक्रेनी सहरहरूमा भइरहेको क्षतिबारे निरन्तर जानकारी गराउने गरेको खुलासा पनि गरे।
ट्रम्पले भने, 'म घर जान्छु, म प्रथम महिलालाई भन्छु,' आज मैले भ्लादिमिरसँग कुरा गरेँ, हाम्रो राम्रो कुराकानी भयो।'
अनि उनी भन्छिन्, 'ए, हो र? भर्खरै अर्को युक्रेनी सहरमा हमला भयो।'
यो सन्दर्भ जोडेर पूर्व युगोस्लाभियाको स्लोभेनियामा हुर्केकी मेलानियाले विस्तारै युक्रेनलाई सहयोग गर्न ट्रम्पलाई मनाउँदै छिन् भनेर बेलायती पत्रिका द टाइम्सले लेखेको छ।
तत्कालीन सोभियत संघको प्रभावमा रहेको कम्युनिष्ट युगोस्लाभियामा जन्मेर हुर्केकी ५५ वर्षीया मेलानियालाई रूसको प्रभावले कसरी पूर्वी युरोपका देशका जनताले दुःख पाएका थिए भन्ने कुरा थाहा छ। युगोस्लाभियाको विखण्डनपछि छुट्टै देश बनेको स्लोभेनिया छोडेर उनी सन् १९९६ मा अमेरिका गएकी थिइन्।
शीतयुद्ध अन्त्य गरेर पूर्वी युरोपलाई कम्युनिस्ट शासनबाट मुक्ति दिलाएका पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको उनले विगतमा प्रशंसा पनि गरेकी छन्।
विगतमा कम्युनिस्ट शासनका कारण दुःख पाएका स्लोभेनियाका जनता अहिले पनि रूसलाई मन पराउँदैनन्। पुटिनले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि स्लोभेनिया अहिले रूस विरोधी खेमामा छ।
मेलानियाका ८१ वर्षीय पिता भिक्टर न्याभ्स स्लोभेनिया आउजाउ गरिरहन्छन् भनेर 'द आर्ट अफ हर डिल: द अनटोल्ड स्टोरी अफ मेलानिया ट्रम्प' पुस्तककी लेखिका मेरी जोर्डनलाई उद्धृत गर्दै द टाइम्सले जनाएको छ। त्यसैकारण, पिताको माध्यमबाट मेलानियालाई स्लोभेनिया र युरोपेली राजनीतिबारे जानकारी भइरहन्छ। जोर्डनले भनिन्, 'मेलानियाको गृह देश पूर्ण रूपमा युक्रेनको पक्षमा छ र त्यहाँका मानिसहरू अमेरिकाले अचानक युक्रेनलाई हतियार उपलब्ध गराउन छोडेकोमा चिन्तित छन्।'
रूसले तीन वर्षअघि युक्रेनमा आक्रमण गर्नेबित्तिकै ट्रम्पले पुटिनलाई ‘जिनियस’ भनेर तारिफ गरेका थिए।
तर, मेलानियाले भने त्यतिबेलै पनि युक्रेनको समर्थन गरेकी थिइन्। उनले निर्दोष नागरिकको हत्या हृदयविदारक र भयानक भएको बताएकी थिइन्। उनले युक्रेनी जनताका लागि प्रार्थना गरिरहेको पनि भनेकी थिइन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्ना फलोअर्सलाई युक्रेनीहरूलाई सहयोग गर्न रेड क्रसलाई दान गर्न आग्रह गरेकी थिइन्।
पुटिनले युद्ध रोक्न इच्छा नदेखाएकाले मात्रै नभएर मेलानियाले निरन्तर युक्रेनलाई समर्थन गर्न आग्रह गरेकाले पनि ट्रम्प अहिले रूसप्रति कडा भएका हुन सक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)