संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘घुस डिल’ गरेको सम्बन्धी अडिओ सार्वजनिक भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे ‘एक्सन’ लिएका छैनन्।
न त मन्त्री गुप्ताले नै सार्वजनिक रूपमा यसबारे बोलेका छन् वा आफ्नो बचाउ गरेका छन्।
मन्त्री गुप्ताले घुस डिल गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको लगायत विवरणसहित नयाँ पत्रिका दैनिक र सिधा कुरा अनलाइनले समाचार प्रकाशित गरेका थिए।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको थियो।
यसबारे प्रतिनिधि सभाको आइतबारको बैठकमा पनि कुरा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको अडिओ सार्वजनिक भएको र त्यसमा उल्लेख ‘बा’ को हुन् भन्दै प्रश्न गरेकी छन्।
सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन्।
'अडिओमा भनिएको बा को हुन्? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो? कसको प्रश्रय? कस्तो तागत? कस्तो संस्कार? के फरक भयो यी सबै वर्ष? जनताले के पाए? संसदीय समिति त चाहिन्छ चाहिन्छ,' उनले भनिन्।
यस्तै माओवादी केन्द्रकी सांसद दुर्गा राई र रेखा शर्माले पनि यसबारे कुरा उठाउँदै प्रधानमन्त्रीसँग जबाफ मागेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘घुस डिल’ गरेको भन्दै अडिओ सार्वजनिक भएपछि सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र पनि प्रधानमन्त्रीले मन्त्री गुप्तामाथि ‘एक्सन’ आवाज उठेको छ।
मन्त्री गुप्ता नेकपा (एमाले) का प्रतिनिधि सभा सांसद हुन्।
सेतोपाटीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई टेलिफोन गरी ‘घुस लेनदेन सम्बन्धी’ सार्वजनिक भएको अडिओबारे सोधेको छ।
हामीले सुरूमा मन्त्री गुप्तालाई घुस डिलबारे अडिओ सार्वजनिक भएको रहेछ, यो कुरा के हो भनेर सोध्यौं।
जबाफमा मन्त्री गुप्ताले ‘त्यो सार्वजनिक अडिओको आवाज मेरो होइन’ भन्दै बचाउ गरेका छन्।
‘यो आवाज मेरो होइन, मैले भनेको वा घुस डिल गरेको भनिएका कुरामा कुनै सत्यता छैन, भूमि मन्त्रालय अन्तर्गतका कर्मचारी हामीले चलाउन केही पाउँदैनौं, एकमुष्ट रूपमा भूमि मन्त्रालयका लागि कर्मचारी खटाइदिने हो, मन्त्रालयले आफै कर्मचारी परिचालन गर्छ,’ मन्त्री गुप्ताले आइतबार दिउँसो सेतोपाटीसँग भने, ‘कास्की मालपोतको प्रसंग आएको छ, त्यहाँ कुनै कर्मचारी न मैले राख्न वा झिक्न सक्छु।’
भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउने सन्दर्भमा उनले त्यसमा पनि आफ्नो संलग्नता नरहेको दाबी गरे।
‘मेरै जिल्लामा भूमि आयोगको अध्यक्ष अशोक राईको जनता समाजवादी पार्टीको छ, मेरै जिल्लामा त मैले आफ्ना मानिस बनाइनँ भने अन्यत्र त्यस्तो गर्ने कुरा आउँदैन,’ उनले भने, ‘भूमि आयोगमा कसलाई नियुक्ति दिने भन्ने कुरा त राजनीतिक संयन्त्र र पार्टीको निकायबाट तय गर्ने हो।’
मन्त्री गुप्तालाई हामीले घुस डिलसम्बन्धी अडिओ आएको सन्दर्भमा ‘त्यो अडिओ कसको हो, परीक्षण गर्न मिल्छ। त्यसका लागि तपाईं तयार हो? यत्रो आरोप लागेपछि तपाईंले फरेन्सिक ल्याबमा मेरो आवाज परीक्षण गरियोस् भनेर सार्वजनिक रूपमा भनिसक्नुपर्ने हो, भन्नु भएन। यसले घुस डिल शंकालाई बलियो बनायो नि होइन?’ भनेर सोध्यौं।
यसमा जबाफ दिँदै मन्त्री गुप्ताले ‘आफ्नो राजनीतिक छविमा आँच पुर्याउने गरी अडिओ सार्वजनिक गरिएको’ दाबी गरे।
‘त्यो अडिओ परीक्षणका लागि मैले पनि माग गरिरहेको छु, त्यो अडिओ र मेरो आवाज परीक्षण गरियोस्, मेरो अंश कति हो र त्यसमा अरू मान्छेले के म्यानिपुलेट गरेका छन् भनेर मैले अख्तियारलाई परीक्षण गर्न पनि भनेको छु, राज्यका अरू निकायले छानबिन गर्ने कुरामा पनि सहयोग गर्छु,’ उनले भने।
अडिओ सार्वजनिक भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा नभएको पनि उनले बताए।
‘प्रधानमन्त्रीज्यूसँग पनि यसबारेमा छलफल गर्छु। अहिलेसम्म प्रधानमन्त्री र पार्टीले राजीनामाको कुरा गर्नुभएको छैन। सदनमा चाहिँ आज कुरा उठेको छ भन्ने सुनेको छु, अब पार्टीमा छलफल होला, पार्टीले जे भन्छ त्यहीअनुसार गर्छु, तर यी सबै चिज मेरो राजनीतिक यात्रालाई समाप्त गर्ने ढंगले बाहिर आएका छन्,’ उनले भने।
मन्त्री गुप्तालाई हामीले ‘तपाईंले अडिओमा आवाज सुनिएका मानिसहरूसँग कुरा गर्नु भएको हो कि होइन’ भनेर पनि सोध्यौं।
उनले मन्त्रालयमा धेरै मानिसहरू आइराख्ने र विभिन्न विषयमा कुरा भइराख्ने बताए।
‘कार्यालयमा कुराकानी गर्न मानिसहरू आइरहन्छन्। त्यसमा त्यसक्रममा केही विषय उठेका हुन पनि सक्छन्। तर मूल रूपमा मैले पैसा मोलमोलाइ गरेँ, घुस मागेँ भन्ने कुरासहित जुन नम्बर बाहिर आएको छ त्यसमा राज्यका अरू निकायले पनि छानबिन गरूँन्। पैसा मेरो खाता वा मन्त्रालयको कुनै खातामा पनि आएको छैन,’ उनले भने, ‘कसरी त्यो नम्बर बाहिर आयो, सार्वजनिक गर्नेहरूले नै जानुन्। मन्त्रीले घुस माग्यो भन्दै अडिओ ल्याउनेहरूलाई म चुनौती दिन्छु- मन्त्रीले यति लिएको छ, उति लिएको छ भनेर भन्नुस्, त्यसको न्यायिक र स्वतन्त्र परीक्षणका लागि म तयार छु।’
गुप्ता २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी पर्साकै भैराटारका हुन्। उनी एमालेको केन्द्रीय सदस्य पनि छन्।
यो पनि पढ्नुहोस्: