निर्वाचन आयोगले रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव गर्ने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १७ गते रूपन्देही–३ उपचुनाव गर्ने निर्णय भएको बताए।
उनका अनुसार मनाङ (२) को प्रदेश सभा सदस्य उपनिर्वाचनबारे टुंगो लागिसकेको छैन।
अदालतले यसबारे आधिकारिक नलेखेकाले त्यहाँको निर्वाचन अन्यौल भएको उनले बताए। यहाँबाट निर्वाचित राजिव गुरूङ (दीपक मनाङे) को पद अदालतले रिक्त गरिदिएको थियो।

गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे परामर्श गरेको थियो।
रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन्। यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत्र १९ गते निधन भएपछि रूपन्देही ३ रिक्त भएको थियो।
पोस्ट कोभिडपछि उनको स्वर फर्कन सकेको थिएन। चुनावका बेला भाषणसमेत नगरी उनले बहालवाला गृहमन्त्री खाणलाई हराएका थिए।
यो पनि: रूपन्देही–३ मा साझा उम्मेदवार छान्दै ६ दलीय मोर्चा, जनमत पार्टीको असहमति