सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएको छ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।
त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो।
सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोलप्रसाद (डिपी)अर्यालले जानकारी दिए।
सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने नगरेको अर्यालले बताए।
उनका अनुसार सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप बुझ्नुपर्ने भएकाले तत्काल अनुमोदन नभएको हो।
संसदीय सुनुवाइ समितिले सामान्यतया सनुवाइ सकिएलगत्तै अनुमोदन गर्छ।
'हामीसँग ४५ दिनको समय छ। तोकिएकै समयभित्र निर्णय हुन्छ,' अर्यालले भने।
समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पत्रकारहरूसँगको कुराकानी गर्दै सोमबार समयअभावका कारण अनुमोदन नभएको बताइन्।
'आज अलि समय अभाव भयो। संसद दिवस पनि भयो, अरू समितिको पनि बैठक छ। त्यसकारण हामीले सम्पन्न गर्न सकेनौं। अर्को बैठकमा निर्णय गर्छौं ,' उनले भनिन्।