अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पुनः बम हमला गर्न सकिने बताएका छन्।
शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले परमाणु हतियार बनाउने गरी युरेनियम प्रशोधन गरेको भेटिए इरानमा अमेरिकाले पुनः बम खसाल्ने बताएका हुन्।
ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने योजना र छलफलहरू तत्कालका लागि रोकिएको पनि बताएका छन्।
इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा अमेरिकाले गोप्य ढंगबाट प्रस्ताव लगेको भन्ने समाचारहरू सार्वजनिक भएको थियो।
तर इरान परमाणु कार्यक्रम रोक्ने सन्दर्भमा वार्ता गर्न तयार नभएकाले ऊमाथिको प्रतिबन्ध हटाउने योजना तत्कालका लागि रोकिएको ट्रम्पले बताएका छन्।
ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले इरानले युरेनियम प्रशोधनलाई निरन्तरता दिएको पुष्टि भए अमेरिकाले फेरि आक्रमण गर्छ? भनेर प्रश्न गरेका थिए।
'अवश्य गर्छौं। यसमा कुनै शंका छैन, शंका गर्नुपर्ने विषय पनि होइन' ट्रम्पले भने।
इरानले पुनः परमाणु कार्यक्रम सञ्चालन नगरोस् भन्ने निश्चित गर्नका लागि यसको निरीक्षण गर्ने निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा संस्था (आइएईए)ले लगातार निगरानी गर्नुपर्ने बताएका छन्।
ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धविराम भएपछि पहिलो पटक दिएको अभिव्यक्तिको जबाफ आफ्नो ट्रुथ सोसल अकाउन्टबाट दिएका छन्।
खामेनीले त्यतिबेला इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा धावा बोलेर इरानले अमेरिकालाई गतिलो झापड दिएको बताएका थिए।
जबाफमा ट्रम्पले खामेनीलाई आफूले बचाएको दाबी गरे।
'हामीले उनीहरुको तीन भयानक स्थानहरू नष्ट गर्यौं। स्वयम् खामनी कहाँ लुकेका छन् भन्ने पनि थाहा थियो त इसराइल र विश्वकै सबैभन्दा शक्तिशाली अमेरिकी सेनालाई उनको हत्या गर्नबाट रोकेँ,' ट्रम्पले भने।
इसराइल-इरान युद्धविराम भए पनि इरानसँग परमाणु कार्यक्रमबारे वार्ता र सहमति प्रक्रिया अगाडि बढेको छैन।
रोयटर्सका अनुसार इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानका सर्वोच्च नेताको अपमान हुनेगरी शब्दहरूको प्रयोग अमेरिकाले गरेका कारण वार्ताको प्रक्रिया सुरु हुन नसकेको भनेका छन्।
'सम्झौता गर्न चाहन्छन् भने ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीप्रतिको अनादरपूर्ण बोली हटाउनपर्छ,' विदेशमन्त्री अराघ्चीले भनेका छन्।