अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक परियोजना लक्षित हमला सफल भएको बताएका छन्।
गएराति इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित तीन वटा स्थानमा अमेरिकाले गरेको हमला सफल भएको ट्रम्पले बताएका हुन्।
इरान-इसराइल तनावको ९ दिनपछि अमेरिका पनि त्यसमा होमिएको हो। इरानको सबैभन्दा ठूलो परमाणु कार्यक्रम रहेको नतान्ज, फर्दो र इस्फहानमा स्थानीय समयअनुसार बिहान २:३० बजे अमेरिकाले बम खसालेको थियो।
आक्रमणपछि ती परियोजना ध्वस्त भएको ट्रम्पले दाबी गरेका छन्।
फर्दोमा ठूलो पहाडको २६२ देखि २९५ फिट तल इरानको आणविक भट्टी रहेको बताइन्छ। त्यहाँको आणविक भट्टी ध्वस्त पार्न इसराइल आफैले नसकेपछि अमेरिकाको सहयोग मागेको थियो।
सुरूमा ट्रम्पले इरानसँग वार्तामार्फत नै आणविक हतियार कार्यक्रम रोक्ने सहमति गर्ने दाबी गरेपनि इरान त्यसमा सकारात्मक नदेखिएपछि उसले बम हानेको थियो।
पहाडको गहिराइमा भएको आणविक हतियार परियोजना नष्ट गर्न अमेरिकाले जिबियू-५७ बंकरभेदी बम प्रयोग गरेको छ। ३० हजार पाउन्ड भार भएका ६ वटा बम खसालेको छ। उक्त बम बोकेर अमेरिकी सेनाको बि-२ बमवर्षक विमान मिसौरीबाट लगातार ३७ घन्टा यात्रा गरेर इरानी सहर कोमनजिक पुगेको थियो। त्यसमा पटकपटक आकाशमै इन्धन भरिएको थियो भनेर न्युयोर्क टाइम्सले जनाएको छ।
फर्दोमा कैयौं पटक बम खसालेपछि मात्रै उक्त आणविक भट्टी ध्वस्त हुन्छ भनिएको थियो। अमेरिकाले त्यहाँ ६ वटा जिबियू-५७ बंकरभेदी बम खसालेका कारण फर्दो ध्वस्त भएको आकलन गरिएको छ। त्यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
ट्रम्प आफैले भने फर्दोलगायत अमेरिकाले बम खसालेको आणविक हतियारसम्बन्धी तीन वटै क्षेत्रहरू ध्वस्त भएको बताएका छन्। उनले इरानमा त्यस्ता आणविक हतियारसम्बन्धी परियोजना अझै थुप्रै रहेको पनि बताएका छन्।
आक्रमणपछि सबै सैन्य विमान इरानी हवाई क्षेत्रबाट बाहिर रहेको पनि ट्रम्पले बताएका छन्। इरानमा हमलापछि उनले ह्वाइट हाउसमा छोटो ब्रिफिङ गरेका थिए। यसबारेमा सम्पूर्ण कुरा सैनिक अधिकारीहरूले आइतबार बेलुका ब्रिफिङ गर्ने बताएका छन्।
'परमाणु सुविधाहरू पूर्ण र पूर्ण रूपमा नष्ट भएका छन्,' उनले भने, 'आक्रमणको उद्देश्य इरानको परमाणु संवर्धन क्षमता नष्ट गर्नु र विश्वको नम्बर एक आतंकवाद प्रायोजक राष्ट्रबाट उत्पन्न परमाणु खतरा रोक्नु थियो।'
ट्रम्पले अब शान्तिको समय भएको पनि बताएका छन्। तर इरान त्यसतर्फ नलागे अझै सशक्त आक्रमण गर्ने पनि ट्रम्पले बताएका छन्।
'अब मध्यपूर्वमा शान्ति कामय गर्नुपर्छ। यदी इरान त्यसमा तयार भएन भने भविष्यका आक्रमणहरू ठूलो हुनेछ। र त्यो आक्रमण थप सजिला हुनेछन्,' ट्रम्पले भनेका छन्।
अमेरिकाले इरानसँग २ महिनादेखि परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा सहमति गर्ने प्रयत्न गरिरहेको छ। त्यसका लागि उसले २ महिनाअगाडि नै इरानमा आक्रमण गर्ने इसराइलको योजना रोकेको थियो। पछि सहमति नहुने देखेर इसराइलले इरानमा आक्रमण थालेको थियो।
इरानमा अमेरिकी आक्रमणबारे अरू शक्तिशाली राष्ट्रहरूले कुनै प्रतिक्रिया दिएको छैन।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भने मध्यपूर्वको तनावमा अमेरिकाको संलग्नताबारे चिन्ता व्यक्त गरेका छन्।
'पहिल्यै तनावग्रस्त भएको क्षेत्रमा अमेरिकी हमलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा खतरा उत्पन्न भएको छ,' गुटेरेसले भनेका छन् ।
इसराइलले भने इरानविरूद्धको हमलामा सहयोग गरेकामा अमेरिकालाई धन्यवाद दिएको छ।
यमनबाट हुथीले अमेरिकालाई चेतावनी दिएको छ। उसले अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने बताएको छ।
अमेरिकाको जिबियू–५७ बंकरभेदी बम के हो? कसरी गर्छ यसले काम?
आफूले नगरेको कामको पनि जस लिने बानी भएका ट्रम्पले यो बम आफ्नो पालामा बनाएको दाबी गरेका छन्। तर 'फाइनान्सियल टाइम्स' का अनुसार बम ट्रम्पको पालामा बनाइएको होइन।
सन् २००३ मा इराकमाथि आक्रमण गर्दा त्यति बेला अमेरिकासँग रहेको सबभन्दा शक्तिशाली बमले पनि इराकका केही बंकर भत्काउन सकेको थिएन। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले अझ शक्तिशाली बम बनाउन आदेश दिएका थिए। त्यही आदेशपछि अमेरिकाले यो बम बनाएको हो।
सन् २००७ मा पहिलोपटक परीक्षण गरिएको यो बम सुरूमा २० वटा बनाइएको थियो। त्यसपछि केही सुधार गरिएको भए पनि अहिलेसम्म युद्धमा प्रयोग भएको छैन।
बमको वजन ३० हजार पाउन्ड (करिब १३.६ टन) छ। तर करिब ८० प्रतिशत वजन धातुको खोलले ओगट्छ। भित्र रहेको विस्फोटक पदार्थको वजन २० प्रतिशत मात्र छ। विशेष खालको अत्यन्तै बलियो स्टिलको खोल भएको यो बम धेरै माथिबाट खसालिन्छ। बमको वजन र उचाइका कारण उत्पन्न हुने शक्तिले अत्यन्तै बलियो र बाक्लो कंक्रिटको बंकर पनि छेड्न सक्छ भनेर बेलायती पत्रिका 'द इकोनोमिस्ट' ले लेखेको छ।
बममा जडित प्रविधिका कारण बाक्लो कंक्रिट छेडेर खाली ठाउँमा पुगेपछि विस्फोट हुन्छ। यसले धेरै गहिरा बंकर पनि ध्वस्त पार्छ। कंक्रिटको छतमुनि धेरै तलाको संरचना बनाइएको छ भने तीमध्ये कुन तलामा पुगेपछि बम विस्फोट हुने भनेर निर्धारण गर्न मिल्छ।
भूमिगत सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिट करिब ६० मिटर (करिब २०० फिट) बाक्लो भए पनि यो बमले छेड्न सक्ने मानिन्छ। तर इरानले पछिल्ला केही वर्षमा अझ बलियो कंक्रिट बनाउने प्रविधि विकास गरेको मानिँदै आएको छ। फर्दोको बंकर पनि त्यही बलियो कंक्रिटले बनेको हो भने यो बमले ६० मिटरसम्म छेड्न सक्दैन। अमेरिका आफैले पनि धेरै बलियो कंक्रिट बनाएको छ।
फर्दोको बंकर कुन गुणस्तरको कंक्रिटले बनेको हो भन्ने यकिन नभएकाले पनि यो बमले कति छेड्छ भन्ने टुंगो नभएको हो।
उदाहरणका लागि — सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिटले हरेक वर्गइन्चमा करिब पाँच हजार पाउन्डको शक्ति धान्छ भनिन्छ। दस हजार पाउन्डको शक्ति धान्ने कंक्रिट भने यो बमले करिब आठ मिटर मात्र छेड्न सक्ने मानिन्छ।
यो बमले फर्दोको बंकर कति मिटरसम्म छेड्छ भन्ने अमेरिकी सैन्य अधिकारीहरूलाई नै थाहा छैन। त्यही भएर उनीहरूले ट्रम्पलाई ठोकुवा गरेर फर्दोको बंकर ध्वस्त पार्न सकिन्छ भन्न सकेका छैनन्।
फेरि यो बम जिपिएस प्रविधिमा आधारित छ। यो प्रविधिलाई निस्क्रिय पनि पार्न सकिन्छ। अहिले इरानी आकाशमा इसराइलको पूर्ण नियन्त्रण छ।
अमेरिकाले बम खसालेको इरानका तीन परमाणु परियोजनाबारे थाहा भएका कुरा
नतान्ज
नतान्जन इरानको राजधानी तेहरानबाट करिब २५० किलोमिटर दक्षिणमा अवस्थित छ। ९ दिनको अवधीमा नतान्जमा इसराइलले पनि पटकपटक हमला गरेको छ।
नतान्ज इरानको सबैभन्दा ठूलो युरेनियम संबर्द्धन सुविधा मानिन्छ। विश्लेषकहरूका अनुसार, यहाँ युरेनियमलाई परमाणु इन्धनमा रूपान्तरण गर्ने प्रविधिको विकास र सेन्ट्रीफ्यूजहरूको निर्माण हुन्छ।
नतान्जमा ६ वटा जमिनमाथिका भवन र ३ वटा भूमिगत संरचना रहेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ। न्युक्लियर थ्रेट इनिसियटिभ (एनटिआइ)ले नतान्जमा दुई भूमिगत संरचनाले ५०,००० सेन्ट्रीफ्यूज राख्न सक्ने संरचना रहेको भनेको छ।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए)का अनुसार नतान्जको पाइलट फ्युल इनरिचमेन्ट प्लान्टमा ६०% शुद्धतासम्म युरेनियम संवर्धन भइरहेको थियो। हतियार-ग्रेड युरेनियम ९०% शुद्धताको हुन्छ।
फर्दो
फर्दो पहाडमुनी रहेको आणविक परियोजना हो। यो इरानी सहर कोमनजिकै छ। यो भट्टीको प्रकृतिबारे धेरै कुराहरू अझै अज्ञात रहेको सिएनएनले लेखेको छ।
यो पहाडको २६२ देखि २९५ फिट तल रहेको भनिएको छ। यो भट्टी ध्वस्त बनाउने बम अमेरिकासँग मात्रै रहेको मानिन्छ। फर्दोमा पनि ६० प्रतिशत शुद्धताको युरेनियम उत्पादन हुन्छ भनेर सिएनएनले लेखेको छ। यो सुविधामा २ हजार ७०० सेन्ट्रीफ्यूज छन्।
इस्फहान
इस्फहानको आणविक भट्टी मध्य इरानमा अवस्थित छ। यो इरानको सबैभन्दा ठूलो परमाणु अनुसन्धान परियोजना हो। यसलाई परमाणु हतियारको केन्द्र मानिन्छ। यो १९८४ मा चीनको सहयोगमा स्थापना भएको थियो। यहाँ तीन हजारभन्दा बढी परमाणु वैज्ञानिक कार्यरत छन्।
इस्फहानमा तीन साना चिनियाँ अनुसन्धान रियाक्टर, एक कन्भर्सन सुविधा, इन्धन उत्पादन प्लान्ट, जिरकोनियम क्ल्याडिङ प्लान्ट, र अन्य सुविधा तथा प्रयोगशालाहरू रहेको सिएनएनले जनाएको छ।