विद्यार्थी राजनीतिमा चिकित्सक, इन्जिनियर र परिचारिका (नर्स) हरूको आकर्षण देखिएको छ। एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा यस्तो देखिएको हो।
अनेरास्ववियुको अध्यक्षमा काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस उत्तीर्ण डा. सुजन कडरिया निर्वाचित भए। केयुबाट एमबिबिएस उत्तीर्ण भएपछि उनी देशका विभिन्न भूभागमा गएर स्वयमसेवक चिकित्सकको रूपमा पनि काम गरे।
त्यही लगन, मिहिनेत र क्रियाशीलताको आडमा उनले म्याग्दीका प्रकाश पौडेललाई सात मतले पराजित गर्दै अनेरास्ववियुको २४ औं अध्यक्ष बने। कडरियाले ७३२ मत ल्याए भने पौडेलले ७२५ मत प्राप्त गरे।
त्यसो त जेठ २५ देखि २९ गतेसम्म त्रिवि स्मृति भवनका चलेको महाधिवेशनबाट उनी जस्तै तीन जना चिकित्सक केन्द्रीय कमिटीमा चुनिएका छन्।
डा. पुष्पराज भाम सचिवालय सदस्य निर्वाचित भएका छन्। उनी खुला निर्वाचन क्षेत्रबाट सचिवालय सदस्य चुनिएका हुन्। डा प्रविण भूसाल सदस्यमा विजयी भएका छन्। उनी भने विश्वविद्यालय राष्ट्रिय कमिटीबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
अनेरास्ववियुमा इन्जिनियरहरू बढी निर्वाचित भएका छन्।
उपाध्यक्ष विकास श्रेष्ठ र सचिव रचना सापकोटासहित १३ इन्जिनियर कमिटीमा निर्वाचित भएका छन्।
सचिवालय सदस्यतर्फ किशोरचन्द्र सुवेदी, रोशनबहादुर साउद, विशाल आचार्य, नविन्द्र चालिसे, नितेश लामिछाने निर्वाचित भएका छन्। त्यस्तै सदस्यतर्फ सुदीन अधिकारी, सचिन श्रेष्ठ, प्रेमबहादुर लामा, आकाश खत्री, अनिश पोखरेल, लोकेन्द्रबहादुर विष्ट विजयी भएका छन्।
यस्तै अधिवक्ता गोपाल नेपाल सचिव चुनिए भने समिर रिजाल सचिवालय सदस्य निर्वाचित भएका छन्। अधिवक्ता कविराज घिमिरे र प्रशिक्षा कोइराला सदस्य निर्वाचित भए।
सचिवको उम्मेदवार बनेका डा. आनन्दकुमार सिंह भने पराजित बने। त्यस्तै १८ जना इन्जिनियरहरू पनि पराजित भए।
रोशन भट्टराई, नवीन निरौला, कमल यादव, अफ्जल मिया, सुवास सुवेदी, नीरज खड्का, पदमबहादुर खड्का, दीपिका पाण्डेय, लोकेश मल्ल, आवरण आचार्य, शरण पाण्डे, बालकृष्ण घिमिरे, विश्वास लम्साल, विमल थापा, मनिष सिलवाल, रमेश दाहाल, धर्मशिला रोकाया, विराज अर्याल निर्वाचित हुन सकेनन्। सचिवको उम्मेदवार बनेकी नर्स प्रेमिका शाही पनि विजयी भइनन्। अधिवक्ता प्रियंका साउद, अमृत बर्तौला, प्रज्ञा ज्ञवाली, गोविन्दकुमार शाह पराजित भए।