जनमत पार्टीले गणतान्त्रिक व्यवस्थाले नागरिकलाई देशको साँचो मालिक बनाएको बताएको छ।
१८ औं गणतन्त्र दिवसको शुभकामना दिँदै जनमत पार्टीले गणतन्त्रमा सार्वभौमसत्ता जनतामा अन्तर्निहित रहेको र यसले शासनको स्रोत जनतालाई बनाएको बताएको हो।
‘गणतन्त्र दिवस हामीले इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रको स्मरण गर्ने दिन हो। नेपालमा एकात्मक निर्दलीय राजतन्त्रको अन्त्य गर्दै जनताको अधिकार, समानता र समावेशितालाई मूर्त रूप दिन स्थापित गणतान्त्रिक व्यवस्थाले नागरिकलाई देशको साँचो मालिक बनाएको छ,’ पार्टीका प्रवक्ता शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्रमा सार्वभौमसत्ता जनतामा अन्तर्निहित रहेको छ र यसले शासनको स्रोत जनतालाई बनाएको छ– जहाँ सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ।’
जनमत पार्टी जनताको अधिकार, आत्मनिर्णय र समृद्धिको पक्षमा दृढ रहेको विज्ञप्तिमा उल्लेख छ। वर्तमान व्यवस्थामा देखिएका कमी–कमजोरीको समाधानको लागि पार्टीले नौलो गणतन्त्रको अवधारणा लिएर अगाडि बढिरहेको पनि जनमतले जनाएको छ।
‘जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संवैधानिक निकायका प्रमुखहरू पनि प्रत्यक्ष निर्वाचित हुने, विज्ञहरूद्वारा मन्त्रालय चलाइने र सामाजिक लोकतन्त्रको आर्थिक नीति अवलम्बन गर्ने अवधारणा नौलो गणतन्त्रले लिएको छ। यो गणतन्त्र दिवसको अवसरमा हामी सबै मिलेर यथार्थपरक र जनमुखी नौलो गणतन्त्र निर्माणतर्फ अगाडि बढौं,’ विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै गणतन्त्र दिवसको अवसरमा वडा र पालिकास्तरमा शुभकामना कार्यक्रम गर्न पनि पार्टीले निर्देशन दिएको प्रवक्ता यादवले जानकारी दिए।