प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीहरूलाई तिखो जबाफ फर्काउन माहिर नेतामध्ये पर्छन्। आलोचक र विपक्षीहरूलाई शब्दका बाणले 'पुग्नेगरी दिने' क्षमताका लागि प्रधानमन्त्री ओली परिचित पनि छन्।
उनको यस्तो स्वभावको तारोमा नपरेका दल र नेता कमै छन्।
कांग्रेससँग मिलेर सत्ताको बागडोर सम्हालिरहेको वर्तमान समयमा चाहिँ प्रधानमन्त्रीको निसानामा कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' परिरहेका हुन्छन् भने कहिले उनकै पूर्व सहयात्री माधवकुमार नेपालले ओलीको बोलीबाट दनक भेटिरहेका हुन्छन्।
बेलाबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछाने लक्षित अभिव्यक्ति पनि दिँदै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय जबाफ दिने र घोचपेच गर्ने सूचीमा परेका छन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन।
अध्यक्ष लिङ्देन र उनको नेतृत्वमा चलिरहेको राजावादी आन्दोलनतिर फर्केर ओलीले बारम्बार तिखो प्रहार गरेका छन्।
धेरै गरे 'सह्य नहुने' चेतावनी पनि पटक पटक दिइसकेका छन्।
प्रधानमन्त्री ओलीका गृहजिल्ला झापाकै सांसद लिङ्देन पछिल्लो समयमा 'म पनि के कम' शैलीमा प्रस्तुत भइरहेका छन्।
अहिलेको व्यवस्था ढाल्ने धम्की धेरै पटक दिइसकेका लिङ्देनले पछिल्लो पटक आफ्नो निसाना प्रधानमन्त्री ओलीतिर तेर्स्याएका छन्। उनले 'भाग्नका लागि हेलिकप्टर दिने' सम्म भनेका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देन यसरी सार्वजनिक रूपमा आमनेसामने हुन थालेको धेरै समय भएको छैन।
उनीहरूबीच लामो समयसम्म राम्रो सम्बन्ध रह्यो। राम्रो मात्र होइन, सहयोगको सम्बन्ध रह्यो।
२०७४ सालको निर्वाचनदेखि बलियो आपसी सम्बन्धमा रहेका यी दुई नेताले दुई–दुई वटा निर्वाचन एकअर्कालाई सहयोग गरेर, मिलेर लडेका छन्।
यस क्रममा सार्वजनिक मञ्चहरूमा एकअर्काको प्रशंसा गरेका छन्। मुख्यगरी झापामा लिङ्देनको निर्वाचन क्षेत्र नम्बर–३ र ओलीको निर्वाचन क्षेत्र नम्बर–५ मा एमाले र राप्रपाले सहकार्य गरेका छन्।
सो सहकार्यले लिङ्देनलाई सांसद बन्न सम्भव बनायो भने ओलीलाई सजिलो बनायो।
तर अहिले परिस्थितिले ओली र लिङ्देनलाई आमनेसामने ल्याइपुर्याएको छ।
लिङ्देन अहिलेको व्यवस्था फालेर राजा ल्याउने मुख्य लक्ष्यका साथ अघि बढेका छन् भने राजनीतिक आस्था र प्रधानमन्त्रीको जिम्मेवारीका रूपमा पनि यो व्यवस्था जोगाउने ठाउँमा ओली छन्।
गणतन्त्रवादी दल र कट्टर राजतन्त्रवादी दलका दुई अध्यक्षबीचको लामो सुमधुर सम्बन्ध र सहकार्य अहिले आएर संकटमा फस्न थालेको छ।
एमाले नेताहरूको दाबीलाई आधार मान्ने हो भने ओली र लिङ्देनबीच सम्बन्ध अब सुध्रिन नसक्ने गरी चिसिइसकेको छ।
राप्रपा नेताहरू भने अहिले देखिएको वाकयुद्ध आ–आफ्नो एजेन्डाको पैरवी भएको र राजनीतिमा जस्तोसुकै सम्भावना पनि कायमै रहने बताउँछन्।
पछिल्लो समय यी दुई नेताबीच सार्वजनिक रूपमै चलिरहेको घोचपेच र सवाल–जबाफले भने उनीहरूबीच चिसिँदै गएको सम्बन्धलाई नै संकेत गर्छ।
वैशाख २८ गते आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको रोस्ट्रमबाट राजावादीहरूलाई व्यंग्य कसे। यति मात्र होइन, नरम भाषाशैलीमा चुनौती पनि दिए।
उनले भने, 'हामीलाई भन्या होला भाग्ने भनेर। हामी त अलि बुढा पनि भइसक्यौं, कुद्न सक्दैनौं। यो (कुरा) भन्ने वक्तालाई मिल्छ, जवानलाई। हामी अहिले पाका मानिस कहाँ भाग्ने, कहाँ कुद्ने हो?'
अनि अलि कडा मिजासमा उनले थपे, 'एउटा थोत्रो संस्थाको तर्फबाट नेपाली जनतालाई लल्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर? नेपाली जनता भाग्ने होइन।'
प्रधानमन्त्री ओलीले त्यस दिन प्रतिनिधि सभाबाट लिङ्देनलाई जबाफ फर्काएका थिए।
त्यसको केही दिनअघि मात्रै लिङ्देनले राजसंस्था फाल्ने र हिन्दु राष्ट्र नराख्ने निर्णय गरेर गणतन्त्रवादीहरूले गल्ती गरेको, त्यो गल्ती सच्याउन तयार नभए (गणतन्त्रवादीले) भाग्न तयार हुनुपर्ने बताएका थिए।
जेठ ६ गते मंगलबार लिङ्देनले काठमाडौंमै आयोजित एक कार्यक्रमबाट फेरि ओलीलाई भाग्न तयार हुन भन्दै चेतावनी दिए।
उनले सोझो हाँक दिए, 'प्रधानमन्त्रीले उमेरका कारण भाग्न सकिँदैन भन्नुभएको थियो। हामी उहाँलाई हेलिकप्टरमा भाग्ने छुट दिन्छौं।'
दुई नेताबीच काठमाडौंमा यस्तो सवाल–जबाफ चलिरहँदा उनीहरूको गृहजिल्ला झापामा त्यसको तरंग सबभन्दा बढी देखिन्छ।
खासगरी एमाले कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट व्यक्त गरिरहेको प्रतिक्रियाले उनीहरू लिङ्देनप्रति क्रुद्ध बनेको देखाउँछ
'हाम्रै पार्टी र हामीले सहयोग गरेर उहाँलाई दुई पटक प्रतिनिधि सभामा पुर्याएका हौं,' झापा–३ बाट २०७४ सालमा कोशी प्रदेश सभा सदस्यमा निर्वाचित एमाले नेता बसन्त बानियाँले भने, 'तर निर्वाचित भएर गइसकेपछि उहाँ जसरी व्यवस्था मास्ने खेलमा सहभागी हुनुभएको छ, त्यसले हामीलाई ठूलो पछुतोमा पारेको छ। कार्यकर्तादेखि मतदातासम्मै काफी पश्चात्तापको अवस्था छ।'
प्रतिनिधि सभाको दोस्रो कार्यकालका लागि झापा–३ बाट संसदमा प्रतिनिधित्व गरिरहेका लिङ्देनले आफ्नो क्षेत्रमा एमालेसँग कुनै संवाद, सहिष्णुता, समन्वय र सहकार्य नगरेको आरोप बानियाँले लगाए।
उनले थपे, 'उहाँको यही शैलीकै कारण अब राप्रपासँग झापामा कुनै पनि सहकार्यको सम्भावना छैन। पार्टीले निर्णय नै गरे पनि कार्यान्वयन हुन सक्ने अवस्था छैन।'
राप्रपाका प्रवक्ता समेत रहेका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने लिङ्देन र राप्रपा कसैको दयामा चल्ने पार्टी नभएको बताए।
'हामीले संसदमा पुर्याएको भनेर एमालेका साथीहरूले भन्नुको कुनै तुक छैन,' लिङ्देन निकट उनले भने, 'झापामा एउटा प्रतिनिधि सभा र दुइटा प्रदेश सभामा एमालेले हामीलाई सघाएको हो। बाँकी प्रदेशभरि एमालेलाई राप्रपाले सघाएको थियो। त्यसैले कुनै दम्भ नदेखाए हुन्छ।'
ओली र लिङ्देनबीच चिसिँदै गएको सम्बन्धले अब चाहिँ भविष्यमा सहकार्यको ढोका बन्द गर्दै लगेको हो भन्ने प्रश्नमा सिटौलाले राजनीतिमा सबै सम्भावनाको ढोका सधैं खुला रहने बताए।
'तर अब एमाले, कांग्रेसले सम्झौता नगरी धर छैन। देश आन्दोलनको आँधीबेहरीतिर अघि बढिसक्यो,' सिटौलाले पनि लिङ्देनकै शैलीमा चुनौती दिए।
पछिल्लो समय ओली र एमालेप्रति आक्रामक अन्दाजमा पेस भइरहेका लिङ्देन झापाबाट धेरै पटकको प्रयासपछि प्रतिनिधि सभामा पुगेको भने सत्य हो।
पञ्चायत कालमा राष्ट्रवादी विद्यार्थी मण्डलको नेतृत्वमा रहेका लिङ्देन २०४६ सालमा मेची क्याम्पसमा राम थापा मारिँदा त्यो घटनाका मुख्य आरोपितमध्ये एक थिए। उनले उक्त घटनामा आफ्नो संलग्नता सधैं अस्वीकार गर्दै आएका छन्।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको 'कू' पछि उनी जिल्ला विकास समिति (जिविस) झापाको मनोनीत सभापति थिए।
लोकतन्त्र स्थापनापछि उनी लामो समय गुमनाम जस्तै रहे। त्यस अवधिमा मोटर ग्यारेज चलाउने, आफै माइक्रो–बस हाँकेर बिर्तामोड, धनकुटा यात्रु ओसार्ने काम पनि गरे। यसरी यातायात क्षेत्रमै रहँदा पनि कमल थापाले नेतृत्व गरेको राप्रपामा लिङ्देन सक्रिय नै थिए।
२०५६ सालमा तत्कालीन झापा–१ मा चुनाव लडेका उनी त्यस बेला तेस्रो भएका थिए। कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजेता भएका थिए।
२०६४ सालमा पहिलो संविधान सभा निर्वाचनमा लिङ्देनले उम्मेदवारी दिने हिम्मत गरेनन्। २०७० सालमा दोस्रो संविधान सभा निर्वाचनमा झापा–३ मा उनी कांग्रेस नेता सिटौलाका मुख्य प्रतिस्पर्धी बन्दै दोस्रो भए।
२०७४ सालको आम निर्वाचन नजिकिँदै थियो। सबै दलहरू चुनावी तयारीमा व्यस्त थिए। त्यही बेला मुलुकका दुई ठूला वाम दल एमाले र माओवादीले 'चुनावी सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने' घोषणासहित वाम गठबन्धन गरे।
त्यस बेलाको दोस्रो र तेस्रो ठूलो दल मिलेपछि पहिलो दल कांग्रेस समेत रक्षात्मक अवस्थामा पुगेका बेला राप्रपाका लिङ्देनलाई भने चिट्ठा परेझैं भयो।
झापा–३ मा वाम गठबन्धनले उम्मेदवारी नदिने बरू राप्रपाका लिङ्देनलाई सघाउने सहमति भयो। त्यसवापत ओलीको चुनाव क्षेत्र झापा–५ सहित सबैतिर राप्रपाले वाम गठबन्धनलाई सघाउने निर्णय भएको थियो।
२०६२–०६३ सालको जनआन्दोलन लगत्तै माओवादीले लिङ्देन सहितका राप्रपा नेताहरूलाई मोसो दलेर, जुत्ताको माला लगाएर अपमानपूर्वक झापाको बिर्तामोड घुमाएको थियो। दशकपछि उनै लिङ्देनलाई चुनाव जिताउन माओवादी र एमाले कार्यकर्ताहरू दिलोज्यान दिएर लागे।
वाम गठबन्धनको साथमा लिङ्देनले कांग्रेस नेता सिटौलालाई पराजित गरे। उनको संसद यात्रा दुई वाम दलको सहयोगमा सम्भव भयो।
राजावादी लिङ्देन त्यही चुनावी जितको बलमा निरन्तर राजनीतिक प्रगति उन्मुख बन्दै गए।
राप्रपा अध्यक्ष कमल थापाले चुनाव हारेर लिङ्देनले जित्दै गर्दा झापामा उनलाई सञ्चारकर्मीले सोधेका थिए, 'संसदीय चुनाव जित्नुभयो, अब पार्टी नेतृत्वमा पनि दाबी रहन्छ कि?'
त्यस बेला पार्टी महामन्त्री रहेका लिङ्देनले 'त्यो अकल्पनीय भएको' मात्रै भनेका थिएनन्, 'कमल थापाकै कारण आफू यहाँसम्म आइपुगेको' अभिव्यक्ति दिएका थिए।
त्यसो भनेको पाँच वर्ष बित्दा नबित्दै लिङ्देनले महाधिवेशनमा उनै थापालाई हराए, जसलाई उनी आफ्नो नेता र अभिभावक मान्थे।
लिङ्देनको यो राजनीतिक छलाङ उनैलाई जिताएका एमाले र माओवादीका लागि भने टाउको दुखाइ बन्दै गयो।
कतिसम्म भने, गएको स्थानीय चुनावमा यही क्षेत्रको कचनकवलमा कांग्रेस र एमाले मिलेर राप्रपा विरूद्ध लडे। एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवारलाई हराएर राप्रपाकै राम थापा कांग्रेस र माओवादी सहयोगमा मेयर बने।
त्यस बेलासम्म पनि ओली र लिङ्देनबीच देखिने तहको टकराव थिएन।
कांग्रेसको पछिल्लो महाधिवेशन उदघाटन सत्रमा भने लिङ्देन र ओलीबीच थोरै सवाल–जबाफ चलेको थियो।
त्यो कार्यक्रममा लिङ्देनले 'गाउँमा नेता आए जनताले कुन चोर आयो भन्न थालेको' बताएर ताली बटुलेका थिए।
जबाफमा ओलीले 'भर्खरै जन्मेका बाछाले हिँड्न समेत नजानेको' भनेर कटाक्ष गरेका थिए।
२०७९ सालको चुनावमा आइपुग्दा एमाले विभाजित भइसकेको थियो। कांग्रेस, माओवादी र एकीकृत समाजवादी सहितका दलहरू एकै मोर्चामा थिए। त्यस्तो अवस्थामा पनि झापा–३ राप्रपालाई छोड्न हुन्न भन्ने मत एमालेभित्र बलियो थियो।
तर ओलीले त्यस बेला 'हामीविरूद्ध चौतर्फी घेराबन्दी छ' भन्दै झापा–५ मा राप्रपाको सहयोग बेगर चुनाव जित्न नसकिने निष्कर्ष सुनाएपछि जिल्लाका कार्यकर्ताको केही जोर चलेन।
ओलीले झापा–३ सहित दुइटा प्रदेश सभा दिएर राप्रपालाई साथैमा राखे।
त्यो चुनावमा ओली र लिङ्देन सहित राप्रपाका तीनै जनाले चुनाव जिते। तर ओलीका सहयोगी अग्नि खरेल झापा–१ मा विश्वप्रकाश शर्मासँग पराजित भए।
उक्त चुनाव पछि प्रचण्डको नेतृत्वमा बनेको सरकारमा ओलीले नै प्रस्ताव गरेर उर्जा मन्त्रालयको जिम्मेवारी सहित लिङ्देनलाई उपप्रधानमन्त्री बनाए।
त्यसपछि पनि राम्रोसँग अघि बढिरहेको ओली–लिङ्देन सम्बन्धमा राष्ट्रिय सभाको पछिल्लो चुनावले केही तिक्तता थपेको थियो।
कोशी प्रदेशमा राष्ट्रिय सभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपामध्ये एक जना एमाले उम्मेदवारले विजय प्राप्त गर्दा राप्रपा उम्मेदवारले एमालेको सबै मत पाएनन्।
त्यस बेला राप्रपा नेताहरूले एमालेले धोका दिएको बताएका थिए।
झापाका एमाले नेताहरू आफ्नो पार्टी र राप्रपाबीच कहिल्यै सम्बन्ध राम्रो नभएको तर अध्यक्ष ओलीको सम्बन्ध र स्वार्थले बाध्यतापूर्वक सहयोग गर्नुपरेको बताउँछन्।
'हिजो हामी आन्दोलनमा हुँदा दमन गर्न अघि सर्ने शक्तिसँग अध्यक्षले आफू चुनाव जित्न सम्बन्ध राख्नु नै सबभन्दा ठूलो भूल थियो,' एमालेका ती नेता भन्छन्, 'त्यसको परिणाम अहिले देखापरेको छ। व्यवस्था नै फाल्छु भन्नेलाई एमालेले काँधमा राखेर हिँडेको अपजसले हामीलाई सधैं खेदिरहनेछ।'
त्यसो त पार्टीसँग कुनै वैचारिक छेकछन्द नमिल्ने लिङ्देनलाई दुई चुनाव जिताएका प्रधानमन्त्री ओलीमाथि अर्का झापाली दुर्गा प्रसाईं, मध्य–पश्चिमका जगमान गुरूङ लगायतलाई बोकेको आरोप पनि लाग्दै आएको छ।
प्रसाईंलाई जिल्लाका नेताहरूको असहमतिका बाबजुद ओलीले केन्द्रीय सदस्य बनाएका थिए। अहिले तिनै प्रसाईं राजा ल्याउने आन्दोलनका क्रममा तीनकुने घटनापछि प्रहरीको थुनामा छन्। जगमान गुरूङ पनि राजावादी आन्दोलनमा सक्रिय नै छन्।
'प्रसाईं र गुरूङ राजनीतिक व्यक्ति होइनन्, उनीहरूबारे ठूलो अपजस बोक्नु नपर्ला,' एमाले झापाका एक नेताले थपे, 'तर गणतन्त्रका लागि संघर्ष गरेको दल एमालेलाई राजावादी लिङ्देनको राजनीतिक प्रगतिको भरिया बनेको अपजस सधैं लागिरहने भयो। अहिले व्यवस्था विरोधी आन्दोलनका बेला झनै अपजस बोक्नुपरेको छ। अब चाहिँ उनीसँग सहकार्यको सम्भावना सकिएको छ।'
लामो समयसम्म 'लभ–हेट' मा चलेको ओली र लिङ्देनको सम्बन्धमा अब 'हेट' को पल्ला भारी हुन थालेको छ।
राजा फर्काउने आन्दोलन सफल भए पनि, तुहिए पनि, ओली–लिङदेनबीच प्रेम र सदभावको समयले कोल्टे फेर्ने छ।