अबिच्युरी
२०३३ साल। चैतको उच्चाटलाग्दो दिन। बाहिर उखरमाउलो गर्मी थियो। त्योभन्दा रापिलो थियो, नख्खु कारागारभित्रको वातावरण। क्षणमै हावा चल्थ्यो, क्षणभरमै घाम चर्किएलाझैं हुन्थ्यो।
त्यस्तो प्रचण्ड गर्मीमा झापाली क्रान्तिकारीहरू चउरमा डोरी टाँगेर भलिबल खेल्ने सुरसार गर्दै थिए।
कोही भित्र–बाहिर आउजाउ गरिरहेका थिए। कोही भान्छाको काममा चटरपटर देखाउँदै थिए। जेलभित्रका अरू बन्दीहरूको आफ्नै ध्याउन्न थियो।
त्यत्तिकैमा जेलको एउटा कक्षबाट सुरिलो स्वर घन्किन थाल्यो — हामी जित्नेछौं, हामी जित्नेछौं, हामी जित्नेछौं एक दिन!
सदाझैं संगीतमय स्वर आएपछि झापाली कम्युनिस्टहरू पुनः एकत्रित भए। कोही कोठाभित्र पसेर आवाजमा आवाज थप्दै समवेत स्वरमा गाउन थाले — हामी जित्नेछौं, हामी जित्नेछौं, हामी जित्नेछौं एक दिन!
जब घामको रङ फेरिँदै गयो, आकाशले गेरू वस्त्र ओढेझैं हुन थाल्यो, उनीहरू आफ्नो लक्ष्य भेदन गर्न थाले।
रात छिप्पिएर चारैतिर चकमन्न भएपछि पनि बेला बेला बन्दीगृहबाट 'हृदयदेखि विश्वास गर्छौं, हामी जित्नेछौं एक दिन' को मधुर लय आइरहन्थ्यो।
झापाली बन्दीहरूका शरीरका रौं उचालिन्थे। जेल प्रशासन र नाइकेको आँखा छलेर आफ्नो लक्ष्य सुम्सुम्याउन पाएकामा उनीहरू दंग पर्थे।
यसरी गीत गाएर झापाली नेताहरूको उद्देश्यमा क्रान्तिकारी जोश थप्ने योद्धा थिए— प्रदीप नेपाल।
उनी अरू झापाली नेताहरूझैं झापा विद्रोहमा हतियार उठाएका कारण नख्खु कारागार आइपुगेका थिएनन्। उनी विद्रोहको अर्कै बाटो हिँडेर नख्खु पुगेका थिए।
प्रदीप नेपाल, गोपाल शाक्य, माधव पौडेल, वीरबहादुर लामाले 'मुस्लो समूह' गठन गरेका थिए। जनवादी गीत गाउने, सिर्जना कर्म गर्ने, त्यही चेतनाको आलोकमा राजनीतिक गतिविधि विस्तार गर्ने र मानिसहरूको मन जित्ने सो समूहको ध्येय थियो। २०३२ सालको अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर 'मुस्लो समूह' का नेताहरूले तत्कालीन पञ्चायत र राजतन्त्रको विरोधमा पर्चा छरे। लगत्तै पक्राउ परेर उनीहरू नख्खु पुर्याइएका थिए। झापाली कम्युनिस्टहरूसँग प्रदीपको भेट त्यहीँ भएको थियो।
'झापाली कम्युनिस्ट भन्नेबित्तिकै विचार, सिद्धान्तमा प्रतिबद्ध, कर्मठ नेताहरू भन्ने बुझिन्थ्यो,' त्यति बेलाको क्षण स्मरण गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले भने, 'प्रदीप झन् प्रखर र उदीयमान हुनु हुन्थ्यो। उहाँले गाउने गीतले सबैलाई जोस र ऊर्जा दिन्थ्यो।'
झापालीहरू जेलबाट जसरी हुन्छ, उम्किन चाहन्थे। बन्दीगृहको ढोकामा पाले, पहरा दिइरहेका प्रहरीसँग मुकाबिला गरेर हुन्छ कि, पर्खाल नाघेर, जेल बसाइ अन्त्य गर्नैपर्छ भन्ने ध्याउन्नमा उनीहरू थिए।
'यस्तै छलफल, बहस–विमर्शबीच हामीले सुरूङ खनेर भाग्ने योजना बनाएका थियौं। त्यसमा उत्साहको इन्धन भर्ने काम प्रदीपले गर्नुभएको थियो। लेखनशिल्प र गीत–संगीतले लयस एउटा क्रान्तिकारी चेतना हुनु हुन्थ्यो उहाँ,' मैनालीले सम्झिए।
दिनभरि अरू काममा तल्लीन रहने उनीहरू रात ढल्किँदै गएपछि घरेलु सामग्री लिएर सुरूङ खन्न थाल्थे। सुरूङ खनेको मुख नदेखियोस् भनेर सुरूङको मुखमा फल्याक राखेर छोप्थे। जेल प्रशासन, नाइके र भाइ नाइकेहरूको दृष्टि नपरोस् भनेर उनीहरूले सुरूङको मुखमाथि खरायोसमेत पालेका थिए।
जेलरहरूले सुरूङको सुइँको नपाऊन् भनेर झापाली बन्दीहरू अनेक गतिविधि गर्थे। प्रदीप नेपालको भने एउटै लय हुन्थ्यो। उनी गीत–संगीतबाट बन्दी सहयोद्धाहरूलाई स्फूर्त तुल्याइराख्थे।
२०३३ फागुन १० गतेबाट उनीहरूले सुरूङ खन्न थालेका थिए। २०३३ चैत १२ गते झिसमिसे नउघ्रिँदै उनीहरूले ६५ फिट लामो सुरूङ खनेर भ्याए। ३२ दिन लगाएर खनिएको सुरूङबाट सिपी मैनाली सहित नरेश खरेल, धनेन्द्र बस्नेत, धर्म घिमिरे, नारद वाग्ले, भीष्म धिमाल, गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल, वीरबहादुर लामा, कामेश्वर हलवाई, जीवन मगर, हर्क खड्का, अशोक न्यौपाने, राजन राजवंशी उम्किन सफल भए।
यसरी निस्किएकामध्ये केही पक्राउ परे। सिपी मैनाली, प्रदीप नेपालसहित धेरै नेताहरू जोगिए।
'नख्खु जेल ब्रेक प्रदीप नेपालको पनि साहसको कथा हो। ठूलो इच्छाशक्ति, दृढता र साहसका साथ जेल ब्रेकको योजना बनाएका थियौं र लक्ष्य भेदन गरेका थियौं,' मैनालीले सम्झिए।
नख्खु जेल ब्रेकपछि प्रदीप नेपाल वीरबहादुर लामाको पदचाप पछ्याउँदै भारत प्रवेश गरे। त्यसपछि उनी वामपन्थी आन्दोलनमा अझ चहकिलो ढंगले देखापरे।
'उहाँ गीत–संगीत, साहित्य लेखन, विचार र दृष्टिकोणको हिसाबले बहुआयामिक व्यक्तित्व हुनु हुन्थ्यो। जेलभित्रै मैले उहाँलाई विराट प्रतिभा र सम्भावनापूर्ण व्यक्तित्वका रूपमा पाएको हुँ,' मैनालीले सम्झिए।
२०३५ सालमा मदन भण्डारी, जीवराज आश्रितहरूको मुक्ति मोर्चा र कोअर्डिनेसन केन्द्रबीच एकता भयो। त्यस एकतामा पनि प्रदीप नेपालको उल्लेख्य भूमिका रहेको मैनाली सम्झिन्छन्। २०३५ साउनमा धनुषाको कचुडीमा भएको सम्मेलनले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसनको १२ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको थियो। प्रदीप नेपाल केन्द्रीय सदस्य चुनिएका थिए।
२०३५ पुस ११ गते मोरङको डिफु गाउँको सम्मलेनले नेकपा मालेको अभ्युदय भयो। सिपी मैनाली नै महासचिव तोकिए।
'कम्युनिस्ट आन्दोलनलाई माले आन्दोलनसम्म ल्याइपुर्याउन प्रदीप नेपालको पनि योगदान रह्यो,' मैनाली सम्झिन्छन्।
प्रदीप नेपाल बने सञ्जय थापा
राजनीतिज्ञ तथा एमाले केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा प्रदीप नेपाललाई कुशल गायकका रूपमा बुझ्छन्। उनको खुलेको गला, लयबद्ध र सुरिलो आवाजबाट मुग्ध भएर कम्युनिस्ट हुनेहरू एमाले र एकीकृत समाजवादी दुवैतिर छन्। कति त महाप्रस्थान गरिसके।
'उहाँ यति जोसिलो आवाजमा क्रान्तिकारी गीत गाउनु हुन्थ्यो, रगत उम्लिएलाझैं हुन्थ्यो। मैले उहाँलाई चिनेकै त्यसरी हो। पछि कोअर्डिनेसन केन्द्र हुँदै माले र त्यसपछि एमाले बनेपछि राजनीतिमा झन् प्रखर रूपमा देखा पर्नुभयो,' बोहोराले सम्झिए।
प्रदीप नेपाललाई जनवादी गायक, विद्रोही नेता, कुशल राजनीतिज्ञ, चिन्तक मात्रै भनियो भने उनको परिचय पूर्ण हुँदैन। उनी शब्दशिल्पी पनि हुन्। उनले आफ्नै जीवनकालमा ५१ भन्दा बढी कृति लेखेका छन्। असंख्य फुटकर रचना छन्।
नेपाली साहित्यको क्षितिजमा उनलाई सञ्जय थापाको नामबाट पनि चिनिन्छ। कमै मानिसहरूलाई थाहा छ, सञ्जय थापा हुनुअघि उनी सञ्जय थापा मगर थिए।
उनकै शब्दानुसार कोअर्डिनेसन आन्दोलनताक साहित्य सिर्जना गर्नेलाई पार्टीभित्रै राम्रो रूपमा हेरिँदैन थियो। राजनीतिलाई विचारको आन्दोलनका रूपमा बुझ्ने तर साहित्यलाई त्यसभन्दा पर राखेर हेरिन्थ्यो। अझ त्यति बेला साहित्य साधनलाई आफू प्रकाशमा आउन खोज्ने निम्न पुँजीवादी महत्त्वाकांक्षाका रूपमा समेत अर्थ्याइन्थ्यो।
त्यस्तो दृष्टिपात आफूतर्फ नहोस् भनेर उनले सुविचारित ढंगले नै नेपालले आफ्नो नाम सञ्जय थापा मगर राख्न थालेका थिए। पत्रपत्रिकामा त्यसैको नामबाट साहित्य, रचना, विचार छपाउन थालेका थिए।
तर पत्रिकाले नाम राख्ने बेलामा मगर हटाइदिएकाले आफू सञ्जय थापा मात्रै हुन पुगेका प्रदीप नेपाल बताउँथे।
उनले 'देउमाइको किनारमा', 'नओइलाउने फूल', 'मुक्त आकाशको खोजी', 'पूर्वतिर', '२१ औं शताब्दीकी सुम्निमा', 'आकाशगंगाको तिरैतिर' जस्ता कृतिका रचना गरेका छन्। ती कृतिमा उनले समाज, राजनीतिप्रतिको आफ्नो दृष्टिकोण लिपिबद्ध गरेका छन्। कलात्मक अभिव्यक्तिमार्फत मुलुकको तत्कालीन अवस्था, शासकीय चेतको आयामिक चित्रण गरेका छन्।
'साहित्य सिर्जना, गीत–संगीत र राजनीतिलाई सँगसँगै हिँडाएर समाजमा चेतना छर्ने काम गर्नुभयो। आफैलाई परिस्कृत र परिपक्व पनि बनाउँदै लैजानुभयो,' उनकै समकालीन अमृत बोहोरा आज पनि सम्झिन्छन्।
प्रदीप नेपाललाई साहित्य साधनाको प्रेरणा उनकै दाजुले दिएका हुन्। दाजु मेघराज शर्मा नेपाल साहित्य जगतमा मञ्जुलका नामबाट सुपरिचित छन्। उनी चर्चित राल्फा आन्दोलनका सांगीतिक हिस्सा पनि हुन्।
एमाले बन्दा एक तह घटुवा
नेपाली कम्युनिस्ट आन्दोलनका अनेक शिरा गाँसिएर एमाले प्रवाह बनेको हो। २०४७ सालमा मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादी नेकपा मालेमा गाभिएपछि आजको स्वरूपको एमाले बनेको हो।
त्यति बेलाको पनि एउटा रोचक प्रसंग छ।
प्रदीप नेपाल कोअर्डिनेसन केन्द्रदेखि नै केन्द्रीय समितिमा थिए। झन्डै १३ वर्षपछि एमाले बन्दा उनी केन्द्रीय कमिटीबाटै हट्न राजी भए।
माले, मार्क्सवादी एकता भएर २०४७ पुस २२ मा नयाँ केन्द्रीय समिति बनेको थियो। ३१ सदस्यीय उक्त कमिटीमा २०४६ भदौमा सिराहाको चौथो महाधिवेशनबाट निर्वाचित कतिपय केन्द्रीय सदस्य अटाएनन्। २०४६ भदौको चौथो सम्मेलनबाट निर्वाचित कमिटीमा प्रदीप नेपाल आठौं वरीयतामा थिए।
एकीकृत पार्टीको केन्द्रीय कमिटीमा मालेका कतिपय नेताहरू नअट्ने भएपछि उनी परिषद् सदस्य मात्रै हुन राजी भएको बोहोराले सम्झिए।
'हिजो त त्यागको कुरा पनि आउँथ्यो। पार्टी एकता हुन्छ भने हामी तल बस्न पनि राजी छौं भनेर केही साथी परिषद् सदस्य बस्नुभयो। त्यसैले एकता सहज भयो। प्रदीप नेपाल पनि त्यति बेला परिषद सदस्य मात्रै हुनुभयो,' उनले भने।
पाँचौं महाधिवेशनपछि भने उनी पुनः केन्द्रीय कमिटीमा आए।
२०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भयो। त्यसपछि मदनपत्नी विद्या भण्डारीलाई अगाडि बढाउन प्रदीप नेपालले नै अहम् भूमिका खेलेको एमाले नेताहरू बताउँछन्।
२०४६ सालको परिवर्तनपछि पनि एमालेले राजनीतिमा तरंग ल्याउन 'हामीसँग लालसेना छन्' भन्थ्यो। प्रदीप नेपालले एमाले लालसेनालाई रातो टोपी लगाएर टुँडीखेलमा परेड नै खेलाए।
मदनको अवसानपछि पार्टी नेतृत्वमा माधव कुमार नेपाल महासचिवका रूपमा आए। त्यसपछि प्रदीप नेपाल उनको विश्वास पात्रका रूपमा स्थापित भए। एमालेले प्रदीप नेपाललाई नै निर्वाचन परिचालन समितिको संयोजक बनाएर दुइटा संसदीय निर्वाचन लड्यो, २०५१ र २०५६ सालको।
२०५० को दशकसम्म उनलाई 'एमालेको थिंकट्यांक' का रूपमा पनि नेताहरूले बुझ्ने गरेका थिए।
२०५६ सालसम्म उनले संसदीय निर्वाचन लडेनन्। २०४८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी २०५४ मा पनि दोहोर्याएर राष्ट्रिय सभा सदस्य भए। २०५१ सालमा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरेका बेला उनी सञ्चारमन्त्री थिए। त्यसपछि २०५५ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका बेला जलस्रोत र स्वास्थ्य मन्त्री भएका थिए।
२०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग मिलेर सरकार बनाउने पार्टी स्थायी समितिको निर्णय प्रति उनी असन्तुष्ट थिए। सो निर्णय थाहा पाएको क्षण आफू सबभन्दा दुःखी भएको र त्यो पीडा 'स्वप्नील सहर' उपन्यासमार्फत् बिसाएको उनी बताउँथे।
२०५६ सालको आम निर्वाचनका बेला उनी निर्वाचन कमान्डर थिए। काठमाडौंको क्षेत्र नम्बर १ बाट तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी उम्मेदवार थिए। निर्वाचन अगाडि नै उनको देहान्त भएपछि प्रदीप नेपाल उम्मेदवार बनेर निर्वाचित भएका थिए। काठमाडौं–१ बाट एमाले विभाजन गरेर माले गठन गरेका वामदेव गौतमसमेत उम्मेदवार थिए।
२०५६ सालमा एमालेले 'आगामी सरकार एमालेको, देशभक्त र प्रजातन्त्रवादीको' भन्ने चुनावी नारा तय गरेको थियो। त्यो नाराका सूत्राधार पनि प्रदीप नेपाल नै थिए भनेर एमाले नेताहरू सम्झिन्छन्।
२०६२–२०६३ को परिवर्तनपछि बनेको अन्तरिम सरकारमा प्रदीप नेपाल शिक्षामन्त्री थिए। शिक्षामन्त्री भएका बेला शिक्षकहरूको मागका सन्दर्भमा कडा अभिव्यक्ति दिएको भन्दै उनी त्यति बेला विवादमा पनि आए। आफ्नो अभिव्यक्ति शैली र स्वभावका कारण मात्र नभई पार्टीका नीति, दृष्टिकोणमा पनि भिन्न विचार राखेर उनी चर्चामा आउँथेँ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनी काठमाडौं–१ बाट उम्मेदवार थिए। तर उनी पराजित भए। त्यसपछि उनी संसदीय राजनीतिबाट ओझेल पर्दै गए।
पार्टी राजनीतिमा पनि उनले चुनौती भोगे। २०५४ सालको छैटौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य भएका उनी २०६५ सालमा महासचिवको उम्मेदवार थिए। ईश्वर पोखरेलसँग पराजित उनी २०७१ सालमा पनि केपी शर्मा ओली समूहबाटै उपाध्यक्षका उम्मेदवार थिए। त्यति बेला पनि निर्वाचित हुन सकेनन्।
२०७१ सालको नवौं महाधिवेशनपछि एमालेमा उनको सक्रियता झन् कम हुँदै गयो। एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेका बेला उनलाई पोलिटब्युरोमा राखिएको थियो। तर त्यो बेलासम्म उनलाई पार्किन्सन रोगले गाँजिसकेको थियो।
२०७८ सालमा एमाले पुनः विभाजन भयो। त्यति बेला एकीकृत समाजवादीले प्रदीप नेपाल आफ्नो पार्टीमा आइदिए हुन्थ्यो ठानेको थियो। तर उनी गएनन्। एमालेमै सदस्यता नवीकरण गरे।
'उहाँ पछिसम्म पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमै हुनु हुन्थ्यो। आवाज त बुझिँदैन थियो तर इशारा गर्नु हुन्थ्यो,' बागमती प्रदेश प्रमुखसमेत रहेका यादव शर्माले भने।
एमालेमा कुनै बेला प्रविधिमैत्री नेताका रूपमा दुई जना परिचित थिए; पहिलो नम्बरमा प्रदीप नेपाल आउँथे, त्यसपछि भीम रावल गनिन्थे।
माधव कुमार नेपाल महासचिव भएका बेला दुवै नेताले उनलाई सघाए।
प्रदीप नेपाल लामो समय मैतिदेवी क्षेत्रमा बसे। त्यहाँ बस्दा उनको व्यक्तित्व लोभलाग्दो भएको शर्माले बताए। उनी प्रायः जिन्स पाइन्टमा ठाँटिएर हिँड्थे।
'गितार बजाइरहने, गीत गुनगुनाइरहने, सिर्जनाकर्ममा तल्लीन रहने र प्रायः कम्प्युटरसमेत चलाइरहने हुनाले नेता बन्न त यस्तो पो हुनुपर्दो रहेछ लाग्थ्यो,' शर्माले भने।
उनीबारे एमालेभित्र एउटा किस्सा छ।
पचासकै दशकमा प्रदीप नेपालले मोबाइल बोक्न थालेका थिए। उनले मोबाइल बोकेको पार्टीका नेताहरूले चर्चा गर्ने नै भए। पार्टी कमिटी बैठकमै कुरा उठ्यो र उनलाई प्रष्टीकरण समेत सोधियो। त्यति बेला उनले 'मेरो फोन होइन, पत्नी झुमा देवानले सञ्चालन गरेको विद्यालयको हो' भनेर जबाफ पेस गरेका थिए।
२०६० को दशकतिर उनको मस्तिष्कमा सिस्ट (फोका) देखापर्यो। नेपालमै त्यसको उपचार भयो। रेडियोथेरापीका लागि भने भारत लगिएको थियो।
'उहाँले राजनीतिमा लामो कालखण्ड व्यतीत गर्नुभयो। २०३७ सालदेखि म उहाँकै सम्पर्कमा रहेँ। काठमाडौंमा उपचार गराउँदा होस् या भारत जाँदा, म पनि सँगै थिएँ। उहाँमा त्यस्तो लोभलालच भएको पाइनँ,' शर्माले भने।
२०१० पुस २८ गते भोजपुरको गोगनेमा जन्मिएका प्रदीप नेपालको मंगलबार ७२ वर्षको उमेरमा देहान्त भयो। जीवनभर आफ्नो निष्ठामा अविचलित उनको जीवनको उत्तरार्द्ध भने सुखद् रहेन। उनी काठमाडौंको गोठाटारमा बस्थे। आखिरी क्षणमा उनको आर्थिक अवस्था रूग्ण हुँदै गएको थियो। स्वास्थ्य बिग्रिँदै गएकाले गीत, संगीत, लेखन, सिर्जना धेरै अगाडिदेखि नै छाडिसकेका थिए।
नेपालको राजनीतिमा अहिले पनि असन्तोषको हुन्डरी चलेको छ। मानिसहरू कुशासनले दिक्क छन्। यो कुशासनलाई कसरी जित्ने, थिति कसरी बसाल्ने भन्ने सबैको चिन्ता छ।
हुन्डरी बेस्सरी चल्न लागेको यो समयमा कुशासन विरूद्धको लडाइँ लड्न हामीसँग अब प्रदीप नेपाल छैनन्।
यो लडाइँमा उनले जस्तै 'हामी जित्नेछौं, हामी जित्नेछौं, हामी जित्नेछौं एक दिन' भनेर अब हामीलाई कसले भन्ला?